खेलकुद

खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोर्ट्स टुरिजम हब बन्न सक्छ : दीपक थापा

By अर्जुन भट्टराई

खेलकुद पूर्वाधारमा लगानी बढाए नेपाल स्पोर्ट्स टुरिजम हब बन्न सक्छ : दीपक थापा

काठमाडौं । खेल क्षेत्रका जानकार तथा अध्येता दीपक थापाले नेपाललाई खेलकुद पर्यटनको महत्त्वपूर्ण गन्तव्य बनाउन सकिने बताएका छन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले प्राकृतिक स्रोत, भौगोलिक अवस्था र पर्यटनको अपार सम्भावनाका कारण नेपाल खेलकुद पर्यटनका लागि अत्यन्त उपयुक्त देश भएको बताए।

नेपाल ब्याडमिन्टन संघका सचिव तथा अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका थापाले नेपालमा खेलकुदलाई अझै पर्याप्त प्राथमिकता दिन नसकिएको भन्दै खेलकुदलाई केवल मनोरञ्जन होइन, राष्ट्रको पहिचान, स्वास्थ्य र अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने जोड दिए।

‘खेलकुद सम्पन्न देशहरूमा प्राथमिकतामा पर्छ। हाम्रोजस्तो राष्ट्रमा पहिलो प्राथमिकता गाँस, बास र कपास हुन्छ। तर यसको अर्थ खेलकुद आवश्यक छैन भन्ने होइन,’ उनले भने, ‘नेपालमा ९० वर्षभन्दा अगाडिदेखि नै फुटबल, ब्याडमिन्टन र क्रिकेटका क्लबहरू स्थापना भइसकेका थिए। तर अहिले पनि व्यावसायिक खेलकुदका लागि आवश्यक पूर्वाधार र प्राथमिकता पर्याप्त छैन।’

थापाका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि पूर्वाधार, सुरक्षा, होटल सुविधा र यातायात व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण हुन्छन्। अन्तर्राष्ट्रिय फेडेरेसनहरूले प्रतियोगिता दिनुअघि सम्बन्धित देशको भौगोलिक अवस्था, खेल पूर्वाधार र आतिथ्य सेवाको मूल्यांकन गर्ने गर्छन्।

‘अन्तर्राष्ट्रिय खेल हुँदा खेलाडी मात्र आउँदैनन्, उनीहरूसँगै अफिसियल, परिवार र साथीहरू पनि आउँछन्। यसले पर्यटन क्षेत्रलाई प्रत्यक्ष फाइदा पुर्‍याउँछ,’ उनले भने।

उनले खेलाडीहरू होटलमा बस्ने, यातायात प्रयोग गर्ने, खाना खाने र किनमेल गर्ने भएकाले होटल, यातायात, व्यापार र स्थानीय उत्पादनको बजार विस्तार हुने बताए। एउटा पर्यटक आउँदा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै मानिस आर्थिक गतिविधिमा जोडिने उनको भनाइ छ।

थापाले नेपालमा खेलकुद पर्यटनका लागि प्राकृतिक सम्भावना उच्च रहेको उल्लेख गरे। उच्च हिमाली क्षेत्रका म्याराथन, साइकलिङ, स्की, र्‍याफ्टिङ, कायकिङलगायतका साहसिक खेलमार्फत नेपाल विश्वकै आकर्षक गन्तव्य बन्न सक्ने उनको दृढ विश्वास छ।

‘नेपाल प्रकृतिले बनाएको देश हो। पूर्वाधारमा हामी केही पछाडि छौँ होला, तर प्राकृतिक स्रोत र साहसिक पर्यटनमा नेपाल निकै अगाडि छ,’ उनले भने।

अन्तर्राष्ट्रिय खेलकुद तथा पर्यटन प्रवर्द्धनका लागि कूटनीतिक निकाय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामग्री निर्मातासँग सहकार्य गर्नुपर्ने थापाले बताए। एक–दुई वर्ष अगाडिदेखि नै खेलकुद कार्यक्रमको क्यालेन्डर बनाएर प्रचार गर्न सके नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा चिनाउन सकिने उनको भनाइ छ।

खेलकुद पूर्वाधार निर्माणमा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई उनले अपरिहार्य बताए। सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत खेल मैदान, रंगशाला र प्रशिक्षण केन्द्र निर्माण गर्न सकिने सुझाव दिँदै उनले भने, ‘सरकारले निश्चित समयका लागि जग्गा लिजमा दिने, कर सहुलियत दिने र लगानीमैत्री वातावरण बनाउने हो भने निजी क्षेत्र आउन सक्छ।’

स्थानीय तहले पनि आफ्नो क्षेत्रभित्रका जग्गा र स्रोतलाई खेल पूर्वाधार विकासमा उपयोग गर्नुपर्ने उनको सुझाव छ। ‘एउटा स्टेडियम बन्नु भनेको एउटा खेल मैदान मात्र बन्नु होइन। त्यससँगै स्थानीय बजार, रोजगारी र नयाँ आर्थिक गतिविधि सुरु हुन्छ,’ उनले भने।

थापाले खेलकुदले देशको अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने बताउँदै विश्वका धेरै साना राष्ट्रहरू खेलकुदकै माध्यमबाट चिनिएको उदाहरण दिए। ‘एउटा खेलाडीले मेडल जित्दा देशको नाम विश्वभर पुग्छ। त्यसपछि प्रायोजन, लगानी र आर्थिक अवसरहरू बढ्छन्,’ उनले भने।

उनले विद्यालय तहबाटै खेल प्रतिभा पहिचान गर्नुपर्ने आवश्यकता औँल्याउँदै विद्यालय, क्लब र राष्ट्रिय टोलीबीच समन्वय भए खेलाडी उत्पादनको अनुकूल वातावरण तयार हुने बताए। साथै, कर्पोरेट क्षेत्रलाई सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुदमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने र सरकारले सहुलियत दिने हो भने निजी क्षेत्र खेलकुद पूर्वाधारमा ठूलो लगानी गर्न तयार रहेको उनको भनाइ छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.