राजनिती

भौगोलिक अखण्डता र राष्ट्रिय अस्तित्व जोगाउनु सरकारको दायित्व हो : सांसद ठगुन्ना

By अर्जुन भट्टराई •

भौगोलिक अखण्डता र राष्ट्रिय अस्तित्व जोगाउनु सरकारको दायित्व हो : सांसद ठगुन्ना

काठमाडौं । नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्नाले नेपाल–भारत सीमा विवादका सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति असहमति जनाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ठगुन्नाले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको बताए।

उनले भने, ‘देशको स्वाभिमान, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने जिम्मेवारी सरकारको हो। संसारका सबै देशका सरकारले आफ्नो देशको स्वाभिमान र भौगोलिक अखण्डतालाई सर्वोच्च प्राथमिकता दिन्छन्।’

सांसद ठगुन्नाले नेपाली पुर्खाहरूको संघर्ष र बलिदानकै कारण आज नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय अस्तित्व कायम रहेको उल्लेख गरे।

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित करिब चार सय वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गरेको दाबी गरे। साथै, ती क्षेत्रमा भारतीय सुरक्षा बलको उपस्थिति रहेको, सडक निर्माण भइरहेको र कैलाश–मानसरोवर यात्रा तथा तिब्बतसँगको व्यापार समेत सञ्चालन भइरहेको बताए।

सीमा विवाद समाधानका लागि नेपालले विशेष कूटनीतिक पहल गर्नुपर्ने बताउँदै उनले यस्तो संवेदनशील विषयमा सरकारको धारणा स्पष्ट, तथ्यमा आधारित र राष्ट्रिय हितअनुकूल हुनुपर्नेमा जोड दिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.