राजनिती

‘ढुंगा बोल्छ, मान्छे बोल्दैन’ — प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन सांसद राईको माग

By अर्जुन भट्टराई •

‘ढुंगा बोल्छ, मान्छे बोल्दैन’ — प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन सांसद राईको माग

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गर्दै आएका छन्। तर लामो समय बितिसक्दा पनि कुनै प्रतिक्रिया नपाएकोमा उनले कडा असन्तुष्टि व्यक्त गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भने, ‘दुई महिना हाराहारी हुन लाग्यो, एक महिना क्रस भयो। प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति करेक्सन गर्नुपर्छ र रोस्टममा बोल्नुभएको रेकर्डबाट हटाउनुपर्छ भनेको। यत्रो लामो समय बितिसक्यो, बरु ढुंगा बोल्छ मान्छे बोल्दैन भन्थे — त्यस्तै भयो अहिले।’

राईले प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकाको मेयर रहँदा सामाजिक सञ्जालमा ‘सिंहदरबार जलाइदिन्छु’ भनेको अभिव्यक्तिलाई सम्झाउँदै त्यसले आफूलाई अहिले पनि चिन्तित बनाएको बताए। देशका महत्त्वपूर्ण संरचना र सार्वभौम निकायको सुरक्षाबारे उनले गम्भीर प्रश्न उठाए।

‘त्यो नियतबस नभएको होला, गल्तीले बोलिएको हो भने पनि यो सदनमा आएर आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ,’ उनले भने।

सांसद राईले वर्तमान सरकारले गरिब, निमुखा, श्रमिक र साना उद्यमीको हितमा काम नगरेको आरोप पनि लगाए। पठाओ राइडर, सुकुम्बासी तथा श्रमिक नागरिकमाथि सरकार कठोर बनेको दाबी गर्दै यस्तो कार्यविधि रोक्न उनले आग्रह गरे।

साथै, लामो समयदेखि राज्यका विभिन्न निकायमा करार तथा श्रेणीविहीन कर्मचारीका रूपमा काम गरिरहेका हजारौँ कर्मचारीको विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराए। सर्वोच्च अदालतको आदेशअनुसार यस्ता कर्मचारीलाई महँगी भत्ता, सामाजिक सुरक्षा कोषलगायतका सुविधा उपलब्ध गराउन उनले सरकारसँग माग गरे।

उनले थपे कि सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने बेलामा सरकारले कम्पनी खडा गरेर नीतिगत भ्रष्टाचार गर्न खोजेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.