काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई नागरिकका प्रश्न सुन्न र संविधानको सीमाभित्र रहेर काम गर्न आग्रह गरे।
सांसद राईले भागवत पुराणको हिरण्यकश्यप र प्रह्लादको कथा उल्लेख गर्दै प्रश्न गर्ने अधिकारमाथि रोक लगाउने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक रहेको बताए। उनले भने, ‘हिरण्यकश्यप आफूलाई सर्वशक्तिमान् ठान्थे। उनको राज्यमा उनीबाहेक अरू कसैलाई ईश्वर मान्न पाइँदैनथ्यो। जब छोरा प्रह्लादले प्रश्न गरे, सत्य बोले — त्यो नै अपराध ठहरियो।’ प्रश्न गर्नु अपराध ठान्ने शासन व्यवस्था अन्ततः पतन हुने उनको दाबी थियो।
उनले सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भएको युवा आन्दोलनको सन्दर्भ स्मरण गर्दै भने, ‘जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो, आज त्यही युवालाई प्रश्न गर्नबाट वञ्चित गरिएको छ।’
सांसद राईले मुगुका २५ वर्षीय राइड–सेयरिङ चालक गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारले आत्मसमीक्षा गर्नुपर्ने बताए। नगरप्रहरीसँगको विवादपछि नेपालीले काठमाडौंको सडकमा आत्मदाह गरेको घटनापछि सरकारमाथि प्रश्न उठ्नु स्वाभाविक भएको उनको भनाइ थियो। उनले भने, ‘एउटा नागरिकले ज्यान गुमाउँदा सरकारले आत्मसमीक्षा गर्नुपर्ने थियो। तर प्रश्न सोध्ने हिम्मत कहाँबाट आयो भन्ने शैलीमा प्रश्न उठाउनेमाथि प्रतिशोध साधियो।’
उनले घटनाबारे प्रश्न उठाउने प्रतिपक्ष, सञ्चारमाध्यम र नागरिक समाजमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाए। साथै, गृहमन्त्रीले संसद्मा जवाफ दिने क्रममा सांसदहरूमाथि धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।
सांसद राईले १८२ सिटको बहुमतले सरकारलाई संविधान उल्लंघन गर्ने अधिकार नदिने स्पष्ट पारे। उनले भने, ‘बहुमतले संविधानभन्दा माथि जाने अधिकार दिँदैन। प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्का बहुमतले दिएको छैन।’
उनले प्रहरी प्रशासन अनौपचारिक शक्तिको निर्देशनमा चल्न थाले राज्य र सत्ताबीचको सीमाना मेटिने चेतावनी दिए। अन्तमा, किसान परिवारबाट आएको र लोकतान्त्रिक मूल्य तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सधैं उभिने प्रतिबद्धता जनाउँदै उनले सरकारलाई निरंकुशताको बाटो छाडेर नागरिककेन्द्रित भएर अघि बढ्न आग्रह गरे।
