राजनिती

गृहमन्त्री गुरुङ निजगढ पुगी मिटरब्याज पीडितसँग संवाद, ६ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

By अर्जुन भट्टराई •

गृहमन्त्री गुरुङ निजगढ पुगी मिटरब्याज पीडितसँग संवाद, ६ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

रौतहट । मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारले पहल थालेको छ। जनकपुरबाट काठमाडौँतर्फ पैदल यात्रा गरिरहेका आन्दोलनकारी पीडितहरूसँग भेट्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ आइपुगेका छन्।

गृहमन्त्री गुरुङ बुद्ध एयरको विमानमार्फत सिमरा विमानस्थलमा अवतरण गरेपछि सडक मार्ग हुँदै सोझै निजगढ पुगेका हुन्। निजगढमा शिविर राखी बसेका पीडितहरूसँग उनले प्रत्यक्ष छलफल र अन्तरक्रिया सुरु गरिसकेका छन्।

लामो समयदेखि न्यायको माग गर्दै सडकमा संघर्षरत नागरिकहरूलाई भेट्न मन्त्री आफैँ मैदानमा उत्रिएपछि यो भेटवार्तालाई राजनीतिक र सामाजिक क्षेत्रमा विशेष चासोका साथ हेरिएको छ।

आफ्नो जायजेथा गुमाउनु परेका र घरबाट उठिबास गराइएका पीडितहरूले मिटरब्याजी प्रथाको समूल अन्त्य हुनुपर्ने माग राख्दै सरकारसमक्ष स्पष्ट ६ बुँदे माग अघि सारेका छन्। यी मागमा फर्जी लिखत खारेज गर्ने, विशेष ऐन बनाउने, न्यायाधिकरण गठन गर्ने र पीडितको सम्पत्ति फिर्ता गर्ने विषय समावेश छन्।

छलफलका क्रममा गृहमन्त्री गुरुङले पीडितहरूका समस्या र मागप्रति सरकार गम्भीर रहेको बताउँदै यस प्रथालाई कानुनी रूपमै अन्त्य गर्न गृह मन्त्रालयले गृहकार्य गरिरहेको आश्वासन दिएका छन्। तर पीडितहरू भने विगतमा पटक–पटक सहमति भए पनि कार्यान्वयन नभएको उल्लेख गर्दै यसपटक ठोस र लिखित निर्णय नभएसम्म आन्दोलन र पैदल यात्रा नरोक्ने अडानमा छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.