राजनिती

आज चार संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची?

By अर्जुन भट्टराई •

आज चार संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची?

काठमाडौं । मंगलबार संसदका चार वटा समितिको बैठक बस्ने भएको छ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक आज आयोजना हुँदैछ ।

बिहान ८:३० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल बीमा प्राधिकरणसँग विभिन्न विषयमा जानकारी लिइनेछ । आर्थिक वर्ष २०८३/८४ मा प्राधिकरणले गरेका प्रमुख कामकारबाही, बीमा क्षेत्रको नियमनमा रहेका नीतिगत तथा कार्यगत समस्या र चुनौती, बीमितको हित संरक्षण र जोखिम न्यूनीकरणका प्रयास, नेपाल सरकारको स्वामित्वमा रहेका बीमा संस्था तथा कम्पनीको पछिल्लो तीन वर्षको कार्यसम्पादन स्थिति र उच्च कार्यसम्पादनका लागि प्राधिकरणले चालेका पहलकदमीलगायत विविध विषयमा छलफल हुनेछ ।

बिहान ९ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ८:३० बजे बस्नेछ, जसमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ ।

सार्वजनिक लेखा समितिको बैठक बिहान ९ बजे बस्ने भएको छ । उक्त बैठकमा विद्युतीय राहदानी छपाई सम्बन्धी विषयसहित अन्य विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.