काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको निजी निवास र विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन खडा गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको छ।
सोमबार जारी गरिएको विज्ञप्तिमार्फत कांग्रेसले यस घटनालाई लोकतान्त्रिक अभ्यास, स्वतन्त्र अभिव्यक्ति र नागरिक स्वतन्त्रतामाथिको गम्भीर चुनौतीका रूपमा परिभाषित गरेको छ।
पार्टीले यस घटनाको कडा निन्दा र भर्त्सना गर्दै सरकारसँग तत्काल निष्पक्ष छानबिन गरेर घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।
साथै, कांग्रेसले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्ति, सञ्चार क्षेत्र, नागरिक समाज तथा आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट भई सशक्त प्रतिवाद गर्न आह्वान गरेको छ।
