काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एकसाथ पाँच महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले यी निर्णयहरूबारे जानकारी दिए।
पहिलो निर्णयअनुसार सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
दोस्रो निर्णयमा गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालका विपद् खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीहरूलाई प्रोत्साहन भत्ता दिने निर्णय गरिएको छ।
तेस्रो निर्णयअनुसार शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने निर्णय गरिएको छ। यसअघि रोकिएका नगद पुरस्कारहरू पनि अब उपलब्ध गराइने छ। सरकारले पठाएका र आफ्नै खर्चमा गएका खेलाडीहरूको विवरण अध्ययन गरेर आवश्यक निर्णय लिइने प्रवक्ता पोखरेलले बताए।
चौथो निर्णयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी दिँदै कार्यकारी अध्यक्षका रूपमा नियुक्त गर्ने निर्णय भएको छ।
पाँचौं निर्णयअनुसार अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी विषयमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
