राजनिती

संघीय संसदका चार समितिको आज बैठक, यी विषयमा हुनेछ छलफल

By अर्जुन भट्टराई •

संघीय संसदका चार समितिको आज बैठक, यी विषयमा हुनेछ छलफल

काठमाडौं । संघीय संसदअन्तर्गतका चार समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाका अर्थ समिति, कानुन न्याय तथा मानव अधिकार समिति र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका साथै राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्ने कार्यक्रम छ।

अर्थ समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ। यस बैठकमा राष्ट्रिय योजना आयोगसँगको छलफलमा आर्थिक वर्ष २०८२/८३ मा आयोगले गरेका मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विभिन्न विकास आयोजनाहरूको प्रगतिबारे छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। यस बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुनेछ। छलफलमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री, सम्बन्धित मन्त्रालयका सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपालकुमार चौधरी सहभागी हुनेछन्।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ बजे नै बस्नेछ। यस बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थाबारे निरीक्षण तथा अवलोकन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ।

राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक भने बिहान साढे ११ बजे बस्नेछ। यस बैठकमा मधेश प्रदेशमा गरिएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.