खेलकुद

यामालको हुँकार : ‘फ्रान्सले डराउनुपर्छ, हामीले होइन’

By अर्जुन भट्टराई

यामालको हुँकार : ‘फ्रान्सले डराउनुपर्छ, हामीले होइन’

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्ससँग भिड्नुअघि स्पेनका युवा फरवार्ड लामिन यामालले आफ्नो टोलीमा कुनै डर नरहेको स्पष्ट पारेका छन् । बरु, डराउनुपर्ने पालो फ्रान्सको हो भन्दै उनले आफ्नो टोलीप्रति पूर्ण आत्मविश्वास व्यक्त गरेका छन्।

टिभी इस्पानासँगको कुराकानीमा यामालले भने, ‘यदि कसैले डराउनुपर्छ भने त्यो उनीहरू (फ्रान्स) हुन् । हामीले युरोमा उनीहरूलाई हराएका थियौँ । हामी दुवै विश्वका उत्कृष्ट टोली हौँ । अब के हुन्छ हेर्न बाँकी छ, तर हामीलाई कुनै डर छैन ।’

क्वार्टरफाइनलमा बेल्जियमलाई पराजित गर्दै सेमिफाइनल पुगेको स्पेनी टोली निकै उत्साहित रहेको यामालले बताए । लगातार दोस्रो ठूलो प्रतियोगितामा सेमिफाइनल पुगेको स्पेन अब फाइनलसम्म पुग्ने लक्ष्यमा छ। उनले भने, ‘फेरि सेमिफाइनलमा पुग्दा हामी निकै खुसी छौँ । अब हाम्रो लक्ष्य फाइनलसम्म पुग्नु हो ।’

यामालले यो पनि स्वीकार गरे कि धेरै टोली स्पेनविरुद्ध रक्षात्मक खेल खेल्ने गर्छन्, जसले खेल कठिन बनाउँछ। ‘कुनै पनि टोली हामीविरुद्ध खुलेर खेल्न आउँदैनन, सबै पछाडि बसेर डिफेन्ड गर्छन् । यसले खेल कठिन बनाउँछ, तर अन्ततः हामीले जित निकाल्न सफल भयौँ,’ उनले भने।

बेल्जियमविरुद्धको क्वार्टरफाइनलमा फाबियान रुइज र वैकल्पिक खेलाडी मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाएका थिए । बेल्जियमका चाल्र्स डि केटेलेरेले एक गोल फर्काएका थिए। उक्त खेलमा बेल्जियमका गोलरक्षक थिबो कोर्टोइस चोटका कारण मैदान छाड्न बाध्य भए। उनको स्थानमा आएका सेन लामेन्सले पाउ क्युबार्सीको प्रहार नियन्त्रण गर्न नसक्दा मेरिनोले रिबाउन्डमा निर्णायक गोल गरे।

खेलको पहिलो हाफको अन्त्यतिर केभिन डी ब्रुयनाको पासमा टिमोथी कास्टान्येको क्रसलाई डि केटेलेरेले हेडमार्फत गोलमा परिणत गर्दा स्पेनका गोलरक्षक उनाइ सिमोनको विश्वकपमा लगातार गोल नखाएको कीर्तिमानी यात्रा ५६० मिनेटमा टुंगियो। यसअघि उनले सन् १९९० को विश्वकपमा इटालीका वाल्टर जेङ्गाले बनाएको ५१७ मिनेटको कीर्तिमान तोडेका थिए।

यस जितसँगै स्पेनको अपराजित यात्रा ३६ खेल पुगेको छ, जुन अर्जेन्टिनाले सन् २०१९ देखि २०२२ सम्म कायम गरेको ३६ खेलको अपराजित यात्राबराबर हो। अब स्पेन इटालीको ३७ खेलको विश्व कीर्तिमानभन्दा एक खेल मात्र टाढा छ। सेमिफाइनलमा उपाधि दाबेदार फ्रान्ससँगको यो भिडन्तलाई प्रतियोगिताकै सबैभन्दा प्रतीक्षित खेलका रूपमा हेरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.