राजनिती

एमाले पुनर्गठन प्रतिवेदन लेख्ने जिम्मा बादल र शंकर पोखरेललाई

By अर्जुन भट्टराई •

एमाले पुनर्गठन प्रतिवेदन लेख्ने जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं । नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन सम्बन्धी कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन तयार पार्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको छ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकले यो निर्णय गरेको हो। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए। बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन अभियान सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै ती सुझावलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो।

एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार यो प्रतिवेदनले पार्टीको भावी वैचारिक, राजनीतिक तथा संगठनात्मक दिशा निर्धारणमा महत्वपूर्ण आधार तयार गर्नेछ। प्रतिवेदन अन्तिम भएपछि पार्टी नेतृत्वसमक्ष पेश गरिने उनले जानकारी दिए।

निर्वाचनपछिको समीक्षा तथा संगठनलाई समयानुकूल रूपान्तरण गर्ने उद्देश्यले गठित यस कार्यदलले देशभरका नेता–कार्यकर्ता, जनप्रतिनिधि, जनसंगठनका प्रतिनिधि र शुभेच्छुकहरूसँग प्रत्यक्ष छलफल गरी सुझाव संकलन गरेको थियो। प्राप्त सुझावहरू पार्टी शुद्धीकरण, संगठन सुदृढीकरण, नेतृत्व विकास, कार्यशैली सुधार र जनतासँगको सम्बन्ध मजबुत बनाउने विषयमा केन्द्रित रहेका छन्।

बैठकले सुझाव संकलन अभियानमा सहयोग गर्ने प्रदेश, जिल्ला तथा सम्बन्धित पार्टी कमिटीहरूलाई धन्यवाद दिँदै सक्रिय सहभागिता जनाएका सबै नेता–कार्यकर्ता र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। प्रतिवेदन अन्तिम भएपछि त्यसका आधारमा पार्टी पुनर्गठनका कार्यक्रम व्यवस्थित रूपमा अघि बढाइने एमालेले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.