काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सडक विस्तारलाई मात्रै विकासको मापदण्ड मान्ने पुरानो सोचबाट बाहिर निस्कनुपर्ने बताएका छन् । उनले सडक सुरक्षाका लागि पूर्वाधार निर्माण, सार्वजनिक यातायातको विकास र सचेतनामूलक परिवर्तनमा जोड दिनुपर्ने धारणा राखे ।
शुक्रबार नेपाली कांग्रेसको ‘ग्रीन टेबल’ कार्यक्रममा ‘सडक सुरक्षा व्यवस्थापन : दण्डात्मक नियन्त्रण कि सचेतनात्मक रूपान्तरण?’ विषयमा बोल्दै सभापति थापाले भने, ‘सडक विस्तार गरेर यातायात छिटो हुन्छ, सहर राम्रो हुन्छ भन्ने सोचबाट हामी निस्किनुपर्छ । बाबुराम प्रधानमन्त्री हुँदा सडक विस्तारका व्यापक काम भए, त्यतिबेला हामी सबैलाई अब काठमाडौं स्वर्ग हुन्छ भन्ने लागेको थियो ।’
उनले त्यसबेलै आफूहरूले लेखेको सम्झाउँदै भने, ‘सडक विस्तारले मात्रै ट्राफिकको समस्या समाधान हुँदैन । काठमाडौंमा सार्वजनिक बसको प्रयोग बढेपछि मोटरसाइकलको प्रयोग घट्छ र विस्तारै समस्या समाधान हुँदै जान्छ ।’
थापाले सडक निर्माण गर्दा पैदलयात्री, बालबालिका, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको आवश्यकतालाई बेवास्ता गरिएको बताए । ‘हामीले सडक विस्तार गर्यौँ तर फुटपाथ बनाएनौँ । बनाए पनि सानो बनायौँ । बालबालिका र ज्येष्ठ नागरिकका लागि सहज होस् भनेर सोचेनौँ, फरक क्षमता भएका व्यक्ति र साइकल चालकबारे त सोच्दै सोचेनौँ,’ उनले भने ।
सडक दुर्घटनाका कारण हुने मानवीय र आर्थिक क्षतिबारे पनि थापाले गम्भीर चिन्ता व्यक्त गरे । उनका अनुसार फुटपाथ विस्तारको परियोजना २०७० सालमा नै सुरु भएको थियो तर त्यसको महत्व नबुझिँदा दैनिक सात–आठ जनाको मृत्यु र वार्षिक २५ देखि २८ हजारसम्म मानिस घाइते हुने अवस्था आयो ।
उनले थपे, ‘सबैभन्दा पीडादायी कुरा के भने १५ देखि ४९ वर्षको उत्पादनशील उमेर समूहका मानिस नै सबैभन्दा बढी दुर्घटनामा पर्छन् । गरिबीबाट भर्खरै माथि उठेका परिवार सडक दुर्घटनाकै कारण फेरि गरिबीमा धकेलिन्छन् ।’
कार्यक्रममा सडक सुरक्षा विज्ञ डा. भगवती सेढाई, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल र यातायात इन्जिनियर सागर पन्त वक्ताका रूपमा सहभागी थिए भने कार्यक्रमको सहजीकरण जनस्वास्थ्य विज्ञ डा. रामानन्द पण्डितले गरेका थिए ।
