काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले मुलुकमा रहेको करिब ७५५ अर्ब रुपैयाँ बेरुजु घटाउनु समितिको सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्।
शुक्रबार लेखा समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सभापति खड्काले भने, ‘करिब ७५५ अर्ब बेरुजु छ। यो बेरुजुलाई कसरी न्यूनीकरण गर्ने भन्ने ठूलो चुनौती छ।’
बैठकले बेरुजु फर्स्योटका लागि पाँचवटा उपसमिति गठन गरेको छ। संयोजकसहित सबै सदस्यहरूको व्यवस्थापन भइसकेको र केही दिनभित्र उपसमितिहरूको कार्यक्षेत्र (टीओआर) तयार गरी काम अघि बढाइने उनले जानकारी दिए।
सभापति खड्काले कतिपय बेरुजु दीर्घकालीन (क्रोनिक) प्रकृतिका रहेको बताउँदै त्यस्ता बेरुजु व्यवस्थापनका लागि सम्बन्धित पक्षसँग छलफल भइरहेको उल्लेख गरे।
उनले आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नु अहिले राष्ट्रको प्रमुख चुनौती रहेको बताए। ‘जबसम्म हामीले आर्थिक अनुशासन कायम गर्न सक्दैनौँ, वित्तीय सुशासन कायम हुन सक्दैन,’ उनले भने।
सभापति खड्काले लेखा समितिको काम पारदर्शी ढंगले अघि बढाउने प्रतिबद्धता जनाउँदै यस कार्यमा सञ्चारमाध्यमको खबरदारी र सहयोग आवश्यक रहेको बताए।
