राजनिती

नागरिकलाई निराश बनाउने अवस्था राज्यको असफलता हो : सांसद साजिदा खातुन

By अर्जुन भट्टराई •

नागरिकलाई निराश बनाउने अवस्था राज्यको असफलता हो : सांसद साजिदा खातुन

काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुनले राहदानी विभाग नजिकै २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाहपछि भएको मृत्युलाई राज्यको गम्भीर असफलताको संकेत भएको बताउँदै सरकारलाई नागरिकप्रति थप जिम्मेवार बन्न आग्रह गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खातुनले यो घटनालाई अत्यन्त गम्भीर विषय करार गर्दै यसका कारण र पृष्ठभूमिप्रति सरकार सचेत हुनुपर्ने बताइन्। उनले भनिन्, ‘विरोध त सरकारसँग छ। सबैभन्दा ठूलो कारण र सबैभन्दा भयानक संकेत भनेको राज्यको चरम असफलता हो। नागरिकलाई निराशाको अवस्थामा पुर्याउने परिस्थितिप्रति राज्य जिम्मेवार हो कि नाइँ? यसमा सरकार र हामी सबै सचेत हुन जरुरी छ। चाहे सुकुम्बासीको सवाल होस्, महिलाको होस्, युवाको होस् या ज्येष्ठ नागरिक र बालबालिकाको — सिंगो मानवता हराउँदै गएको अहिले आभास हुन्छ।’

उनले देशमा हत्या, आत्महत्या, बलात्कार, आत्मदाह लगायत हिंसात्मक घटनाहरू बढ्दो क्रममा रहेको उल्लेख गर्दै यसका कारणबारे सरकारले गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखिन्। सुकुम्बासी, महिला, युवा, ज्येष्ठ नागरिक र बालबालिकालगायत सबै समुदायका समस्याप्रति राज्य संवेदनशील हुनुपर्ने आवश्यकतामा उनले जोड दिइन्।

सांसद खातुनले सरकारले सुशासनको नारालाई केवल भाषणमा सीमित नराखी व्यवहारमा उतार्नुपर्ने बताउँदै आर्थिक, सामाजिक, सांस्कृतिक तथा मानव अधिकारसँग सम्बन्धित विषयमा प्रभावकारी ढंगले काम गर्न आग्रह गरिन्। हरेक नेपाली नागरिकको सुरक्षा र अधिकार सुनिश्चित गर्ने दायित्व सरकारको भएको स्मरण गराउँदै उनले देशमा बढ्दो मनोसामाजिक समस्यातर्फ पनि सरकारको ध्यान आकर्षित गराइन् र नागरिकलाई भय तथा निराशाबाट मुक्त वातावरण बनाउन सरकार जिम्मेवार बन्नुपर्ने माग राखिन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.