राजनिती

नागरिकले पीडा सुनाउन जिउँदै जल्नुपर्ने अवस्था आयो : सांसद पार्वती विक

By अर्जुन भट्टराई •

नागरिकले पीडा सुनाउन जिउँदै जल्नुपर्ने अवस्था आयो : सांसद पार्वती विक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएकी छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विकले सरकारको सय दिनको उपलब्धि अत्यन्त सीमित रहेको आरोप लगाइन्। उनले भनिन् — गरिब र विपन्न नागरिकहरूले आफ्ना समस्या समाधान नभएपछि चरम कदम चाल्न बाध्य हुनुपर्ने दुःखद अवस्था आइपुगेको छ।

‘सरकारको सय दिन सय दिनमै सीमित हुँदैछ। गणेश नेपालीजस्ता गरिब नागरिकहरूले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको छ,’ उनले भनिन्।

सांसद विकले नेपाली जनता नै यस देशका सर्वोच्च र सार्वभौम शक्ति भएको स्मरण गराउँदै सरकारलाई जनताको धैर्यको परीक्षा नलिन कडा चेतावनी दिइन्।

‘यो देशमा सबैभन्दा सार्वभौम अधिकारसम्पन्न नेपाली जनता हुन्। हिजो पनि वीर बलभद्र कुँवर, भक्ति थापाजस्ता वीरहरूको अगुवाइमा यो देश बचाइएको हो। आज पनि नेपाली जनता सार्वभौम छन्,’ उनले भनिन्।

उनले थपिन् — सरकारमा घमण्ड र अराजकता बढ्दै गए जनताले संविधानले दिएको अधिकार प्रयोग गर्न पछि नहट्ने चेतावनी पनि दिइन्।

सांसद विकले गणेश नेपालीको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरिन्।

‘गणेश नेपालीको मृत्युको खबरले निकै दुःखी बनाएको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। नाताले उहाँ मेरो कतै आफन्त पनि पर्नुहुन्छ,’ उनले भनिन्।

यसैसाथ, सांसद विकले गोकर्णेश्वर क्षेत्रमा लोड गरिएको गाडीमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक पैदलयात्रीको मृत्यु भएको घटनातर्फ पनि सरकारको ध्यान आकर्षित गराइन्। उनले यो घटना गम्भीर लापरवाहीका कारण भएको बताउँदै सम्बन्धित पक्षमाथि तत्काल छानबिन र कारबाही गर्न माग गरिन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.