काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको रातेखाल क्षेत्रमा पुल नभएका कारण स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थीहरू, जोखिम मोलेर खोला तर्न बाध्य भइरहेको भन्दै सरकारको ध्यान खिचेकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले झापा–२ अन्तर्गत कजुवे–रातेखाल क्षेत्रमा भर्खरै आएको बाढीले अवस्था झनै गम्भीर बनाएको बताइन्। तीन वर्षअघि नै सो पुलका लागि बजेट विनियोजन भए पनि निर्माण कार्य अघि बढ्न नसकेको उनले जानकारी दिइन्। त्यसपछि स्थानीयवासीले आफैँ २० लाख रुपैयाँ संकलन गरेर पुल बनाउने प्रयास गर्दा पनि मापदण्ड नपुगेको भन्दै काम रोकिएको उनले बताइन्।
सांसद राना मगरले सदनमा भनिन्, ‘मेरो झापा क्षेत्र नम्बर २ मा कजुवे, रातेखालमा अस्ति मात्रै बाढी आइराछ। त्यहाँ तीन वर्षअघि बजेट परेको, त्यो नबनेर अहिले फेरि स्थानीयहरूले २० लाख उठाएर बनाउने कोसिस गर्दा पनि मापदण्ड नपुगेर पुल त्यत्तिकै थियो। धेरै बच्चाहरू त्यो खोला क्रस गरेर स्कुल जाँदा मृत्यु भएको छ। अस्ति म भिजिट गर्ने बित्तिकै एकजना १० वर्षको बालक साइकलसँगै नदीमा खसे, हामीले रेस्क्यु गर्यौँ। म पूर्वाधार मन्त्रीज्यूलाई र मन्त्रालयलाई ध्यानाकर्षण गराउन चाहन्छु — त्यो पुल बनाउनुपर्यो।’
उनले पुल नहुँदा खोला तर्ने क्रममा अहिलेसम्म धेरै बालबालिकाले ज्यान गुमाइसकेको पनि जानकारी गराइन्। आफू स्थलगत अवलोकनमा पुगेकै दिन एक १० वर्षीय बालक साइकलसहित नदीमा खसेको र स्थानीयको सहयोगमा उद्धार गरिएको घटना उनले सदन समक्ष राखिन्।
सांसद राना मगरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै जेनतेन भए पनि उक्त क्षेत्रमा तत्काल पुल निर्माण गर्न आग्रह गरिन्।
सँगै उनले गणेश नेपालीको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै भविष्यमा कुनै पनि नेपाली नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य नहुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन्।
