राजनिती

परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङ: राहदानी सुधार, विदेशमा उद्धार र आर्थिक कूटनीतिसहित १० विषय सार्वजनिक

By अर्जुन भट्टराई

काठमाडौं । परराष्ट्र मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत मन्त्रालयका पछिल्ला गतिविधि, द्विपक्षीय सम्बन्ध, राहदानी सेवा सुधार र उद्धार कार्यलगायत १० महत्वपूर्ण विषय सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ब्रिफिङमा यी विषयहरूबारे विस्तृत जानकारी दिए।

सरकार गठनको एकसय दिनमा मन्त्रालयले गरेका मुख्य कामहरूको विवरण असार २० गते नै सार्वजनिक गरिसकिएको र अहिले वेबसाइटमा पनि उपलब्ध रहेको प्रवक्ता क्षेत्रीले बताए।

**राहदानी सेवामा सुधार**

नेपाली नागरिकलाई सहज र प्रभावकारी राहदानी सेवा दिन मन्त्रालयले थुप्रै सुधारका काम अघि बढाएको छ। राहदानी प्रणाली परिवर्तन भई २०८३ असार २९ गते अर्थात् १३ जुलाई २०२६ बाट नयाँ प्रणाली सञ्चालनमा आउनेछ। सेवा नियमित र सहज रहने अपेक्षा गरिए पनि सुरुमा केही सामान्य प्राविधिक समस्या आउन सक्ने बताइएको छ।

राहदानी सेवालाई नागरिकमैत्री बनाउन तीनवटा महत्वपूर्ण कदम चालिएका छन् — राहदानी ऐन २०७६ को पहिलो संशोधन विधेयक राय सुझावका लागि सार्वजनिक गरिएको छ; छापिएका राहदानी जिल्ला तथा इलाका प्रशासन कार्यालयसम्म छिटो पुर्याउन हुलाक विभागसँग सहकार्य सम्झौता भएको छ; र जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन सकिने व्यवस्था लागू गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ।

**यूएईको उच्चस्तरीय भ्रमण**

संयुक्त अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल ज्याउदीको नेतृत्वमा १८ सदस्यीय प्रतिनिधिमण्डलले नेपालको तीनदिने औपचारिक भ्रमण गर्यो। भ्रमणका क्रममा व्यापार, लगानी, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल रूपान्तरण, पर्यटन, श्रम, आप्रवासन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र सार्वभौम सम्पत्ति कोषमार्फत लगानी विस्तारजस्ता विषयमा छलफल भयो। प्रतिनिधिमण्डलले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग भेटवार्ता गरेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग द्विपक्षीय बैठक पनि सम्पन्न भयो।

**चीनसँग आर्थिक बैठक**

चीनका वाणिज्य उपमन्त्री यान डोङको नेतृत्वमा एक प्रतिनिधिमण्डलले जुलाई ६ देखि ८ सम्म नेपाल भ्रमण गर्यो। यस अवसरमा नेपाल–चीन आर्थिक तथा व्यापार संयुक्त समितिको १२औँ बैठक सम्पन्न भयो, जसमा व्यापार, कनेक्टिभिटी, पूर्वाधार विकास र लगानीका विषयमा छलफल भएको प्रवक्ता क्षेत्रीले बताए।

**स्क्यामिङ केन्द्रबाट ८३६ नेपालीको उद्धार**

दक्षिणपूर्वी एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रबाट हालसम्म ८३६ जना नेपालीको उद्धार गरिएको छ। यसमध्ये कम्बोडियाबाट ७०९, म्यानमारबाट ११३, लाओसबाट ८ र थाइल्यान्डबाट ६ जनाको उद्धार भएको हो। कम्बोडिया सरकारले भिसा अवधि सकिएका नेपालीको शुल्क र जरिवाना मिनाहा गर्दै आएको र यस वर्ष ६०२ जनाको शुल्क मिनाहा गरिएको पनि मन्त्रालयले जनाएको छ। राहदानी हराएकाहरूलाई एकतर्फी यात्रा अनुमति पत्र दिने काम पनि जारी रहेको छ।

**२० देशका लागि रणनीति तयार**

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै मन्त्रालयले विभिन्न देशसँग सम्बन्धित रणनीति तयार गरेको छ। पहिले भारत, चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, जर्मनी, बेल्जियम, दक्षिण कोरिया र यूएईसहित १० देशका लागि कन्ट्री स्पेसिफिक रणनीति तयार गरिएकोमा अब थप १० देश थपिएर जम्मा २० देशसम्बन्धी रणनीति तयार भएको छ।

**नेपाल–अष्ट्रेलिया परामर्श बैठक**

नेपाल–अष्ट्रेलिया द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आगामी २४ जुलाई २०२६ मा काठमाडौंमा हुनेछ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिवले गर्नेछन् भने अष्ट्रेलियाको नेतृत्व डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेडकी फर्स्ट असिस्टेन्ट सेक्रेटरी सारा स्टोरीले गर्नेछिन्।

**पश्चिम एसियाको अवस्था र नेपाली नागरिक**

पश्चिम एसियामा भइरहेका पछिल्ला घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको मन्त्रालयले जनाएको छ। वार्ता र कूटनीति नै समस्या समाधानको स्थायी माध्यम भएको दोहोर्याउँदै क्षेत्रीय शान्ति, स्थायित्व र हर्मुज जलमार्गको निर्बाध उपयोगका लागि भइरहेका पहलप्रति नेपालको समर्थन रहेको प्रवक्ता क्षेत्रीले बताए। उक्त क्षेत्रमा रहेका नेपालीहरूको अवस्था हाल सामान्य रहेको र उनीहरूको सुरक्षाका लागि मन्त्रालय सजग रहेको पनि उनले बताए।

**मुगुका गणेश नेपालीको निधनमा दुःख**

शरीरमा आगो लगाएर घाइते भएका मुगुका गणेश नेपालीको उपचारक्रममा निधन भएकोमा मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ। प्रधानमन्त्रीको निर्देशनअनुसार उनलाई नयाँ दिल्ली लैजान विभिन्न सरकारी निकाय, अस्पताल प्रशासन र चिकित्सक टोलीबीच समन्वय गरिएको थियो, तथापि स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएकाले चिकित्सकको सल्लाहअनुसार उनलाई लैजान सम्भव भएन।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.