राजनिती

गणेश नेपालीको आत्मदाह प्रयासलाई ट्राफिक जरिवानासँग जोड्नु भ्रामक छ : ट्राफिक प्रहरी

By अर्जुन भट्टराई •

गणेश नेपालीको आत्मदाह प्रयासलाई ट्राफिक जरिवानासँग जोड्नु भ्रामक छ : ट्राफिक प्रहरी

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोडेर फैलाइएको प्रचार तथ्यहीन र भ्रामक रहेको स्पष्ट पारेको छ।

ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असार २५ गते राहदानी विभागअगाडि मुगु जिल्ला सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए। तर यस घटनाको ट्राफिक कारबाहीसँग कुनै सम्बन्ध नरहेको प्रहरीले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक छानबिनका क्रममा ट्राफिक प्रहरीद्वारा निजलाई कुनै पनि प्रकारको जरिवाना नगरिएको र ट्राफिक कारबाहीसँग यस घटनाको कुनै सम्बन्ध नरहेको तथ्य स्पष्ट पार्न चाहन्छौँ।’

घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित अनुसन्धान अधिकारीमार्फत कानुनी अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। साथै, आधिकारिक पुष्टि नभएका विषयलाई सुरक्षा निकायसँग जोडेर प्रचार गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने भन्दै यस्ता सामग्रीप्रति सचेत रहन आग्रह गरिएको छ।

ट्राफिक प्रहरीले अनुसन्धानबाट वस्तुगत निष्कर्ष नआएसम्म भ्रम फैलाउने किसिमका समाचार प्रकाशन÷प्रसारण नगर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सर्वसाधारण सबैलाई अनुरोध गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.