काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खड्काले यस्तो पीडादायी घटना फेरि नदोहोरिउन् भन्नका लागि राज्य, राजनीतिक दल र जनप्रतिनिधिहरू गम्भीर हुनुपर्ने बताए।
उनले भने, ‘यो धेरै दर्दनाक कुरा हो। एउटा युवकले आत्मदाह गर्नुपर्ने अवस्था आउनु अत्यन्तै पीडादायी छ। राज्य गम्भीर हुनुपर्छ।’
खड्काले नागरिकमा राज्यप्रतिको विश्वास बढाउन जोड दिए। उनले भने, ‘यो राज्यमा कुनै पनि जात, जाति, वर्ग र समुदायको मेरो पनि भविष्य छ, स्वाभिमानका साथ बाँच्न पाउँछु, अवसर पाउन सक्छु भन्ने विश्वास राज्यले दिलाउनुपर्छ।’
उनले सरकार, राजनीतिक दल र नागरिक समाज सबैले मिलेर विश्वासको वातावरण निर्माण गर्नुपर्ने धारणा राखे।
सभापति खड्काले गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी पाएको बताउँदै उनलाई बचाउन राज्यले सबै प्रयास गर्नुपर्ने माग गरे। उनले भने, ‘राज्यको दायित्व नागरिकलाई बचाउने हो। उहाँलाई बचाउनका लागि सरकारले कुनै कसर बाँकी राख्नुहुँदैन।’
अन्तमा खड्काले यस्ता दुखद घटना पुनः नदोहोरिउन् भन्नका लागि सबै पक्षले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए।
