राजनिती

गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिन गर्न सांसद आरेन राईको माग

By अर्जुन भट्टराई •

गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिन गर्न सांसद आरेन राईको माग

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले २५ वर्षीय युवाले आत्मदाह गर्नुपर्ने अवस्था किन बन्यो भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। उनले भने, ‘सभामुख महोदय, २५ वर्षका एउटा युवाले आत्मदाह गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो? सरकारले यो घटनालाई गम्भीर ढंगले छानबिन गर्नुपर्छ।’

सांसद राईले पठाओलगायत राइड-सेयरिङ सेवामा काम गर्ने श्रमिकहरूको अवस्था पनि सदनमा उठाए। दिनभर खटेर पाँच सयदेखि एक हजार रुपैयाँसम्म मात्र कमाउने यी श्रमिकलाई पटक-पटक जरिवाना गरिनु उचित नभएको उनको भनाइ थियो।

उनले भने, ‘एउटा पठाओ राइडरले दिनमा ५ सय, ७ सय वा हजार रुपैयाँ कमाउँछ। त्यही व्यक्तिलाई हजार रुपैयाँ जरिवाना लगाइदिन्छ, पटक-पटक फाइन काट्छ। ट्राफिक नियम कडाइ गर्दा हाम्रो बाटोघाटोको अवस्था के छ? म सरकारका मन्त्रीहरूलाई एकचोटी काठमाडौंका गल्ली-गल्ली र रिङरोड घुम्न अनुरोध गर्छु।’

पर्याप्त पूर्वाधार नबनाई कानुन मात्र कडा गर्नु उचित नहुने धारणा राख्दै उनले ग्रामीण क्षेत्रमा रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको अभावका कारण युवाहरू काठमाडौं आउन बाध्य भएको पनि उल्लेख गरे। यस्ता समस्याको दीर्घकालीन समाधानमा सरकार केन्द्रित हुनुपर्ने उनको माग थियो।

सांसद राईले गणेश नेपालीको घटनालाई एक व्यक्तिको मात्र नभई संघर्षरत हजारौं युवाको प्रतिनिधि घटनाका रूपमा व्याख्या गर्दै श्रमिकको आम्दानी र राज्यका उच्च पदाधिकारीहरूको खर्चबीचको असमानताप्रति पनि प्रश्न उठाए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.