राजनिती

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद महर

By अर्जुन भट्टराई •

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद महर

काठमाडौं । नेकपा (एमाले) का सांसद ऐनबहादुर महरले मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारको कडा आलोचना गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले भने कि उनी सदनमा आउनुअघि सिधै वीर अस्पतालबाट आएका हुन् र त्यहाँको अवस्था अत्यन्त पीडादायी छ। ‘वीर अस्पतालको दृश्य हेरिसक्नु छैन सभामुख महोदय। त्यहाँ जो कोही सामान्य मान्छेले अहिले जाने स्थिति पनि छैन, हेरिसक्नु पनि स्थिति छैन। असाध्यै भावविह्वल परिस्थिति बनेको छ,’ उनले भने।

सांसद महरले उपचारको क्रममा निधन भएका गणेश नेपालीको शव अहिलेसम्म परिवारलाई हस्तान्तरण नगरिएकोमा गहिरो असन्तुष्टि व्यक्त गरे। उनका अनुसार हिजोदेखि नै परिवारका आफन्तलाई मृतकसँग भेट्न समेत दिइएको छैन। अस्पताल परिसरमा प्रहरीको कडा सुरक्षा तैनाथ गरिएकोमा पनि उनले आपत्ति जनाउँदै भने, ‘मानौँ ठूलै अपराध गरेर आएको जसरी त्यो लास राखिएको छ। यो बडा दुखद छ।’

सांसद महरले सरकारलाई ‘स्टन्ट’ गर्ने बानी छाड्न आग्रह गरे। उनले भने कि राज्यले नागरिकलाई आत्मदाहजस्तो चरम कदम चाल्नुपर्ने परिस्थितिमा धकेल्नु गम्भीर विषय हो। पछिल्लो समय सुकुम्बासीलगायत नागरिकहरू सरकारका कारण निराशा र चरम पीडामा परेको उनको आरोप थियो। ‘राज्यले नागरिकहरूलाई आत्मदाह गर्ने परिस्थिति जबर्जस्त निर्माण गरिरहेको छ। यो रोकिनु पर्छ,’ उनले थपे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.