राजनिती

गणेश नेपाली प्रकरण : गृहमन्त्री गुरुङ संसदमा भावुक, सोधे– ‘घटनास्थलमा कुन दलको सरकार छ?’

By अर्जुन भट्टराई

गणेश नेपाली प्रकरण : गृहमन्त्री गुरुङ संसदमा भावुक, सोधे– ‘घटनास्थलमा कुन दलको सरकार छ?’

काठमाडौं। राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाले संसदमा तरंग ल्याएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा गृहमन्त्री सुधन गुरुङ भावुक बनेका छन्।

संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री गुरुङ केहीबेर बोल्नै नसकी भावुक देखिए। उनले भने, ‘घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन। त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो, अब हामीले हातले काम गर्नुपर्छ। आफ्नो जनताको सेवा गर्नुपर्छ।’

विपक्षी दलका सांसदहरूको आलोचनाको प्रतिवाद गर्दै गृहमन्त्री गुरुङले घटनाको जिम्मेवारी स्थानीय र प्रदेश सरकारतर्फ पनि सारे। घटनास्थलमा ट्राफिक प्रहरीले ह्वील लक गरेको विषयमा प्रश्न उठाउँदै उनले भने, ‘जुन ठाउँमा घटना घट्यो, त्यहाँ ट्राफिकले ह्वील लक गरेको होइन। कुनै भिडियोमा ट्राफिकले ह्वील लक गरेको देखिन्छ?’

विपक्षी दलतर्फ सीधा प्रश्न गर्दै उनले भने, ‘स्थानीय सरकार कसको छ अहिले? प्रदेश सरकार कसको छ अहिले? दुई तहको सरकार त तपाईंहरूसँगै छ। यो नियम कानुन कसले बनाएको हो? तपाईंहरूले बनाएको कानुन हामीले पालना गरेका हौं।’

गृहमन्त्री गुरुङले जनताको पीडा बुझ्न आफूहरू प्रत्यक्ष रूपमा घटनास्थलमा पुग्ने गरेको बताउँदै यसलाई स्टण्टबाजीको रूपमा नलिन आग्रह गरे। साथै, घटनापछि अस्पताल पुग्ने सांसदहरूको संख्याबारे पनि उनले विपक्षीलाई प्रश्न गरे। उनले भने, ‘म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो हस्पिटलमा तपाईंहरू कति जना पुग्नुभएको थियो? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ, उहाँहरूमध्ये को–को त्यहाँ हुनुहुन्थ्यो?’

अन्तमा गृहमन्त्री गुरुङले सरकार सञ्चालन केवल भाषणबाट नभई जनताको समस्यामा पुगेर समाधान गर्नुपर्ने धारणा राखे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.