काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले गणेश नेपालीको मृत्युका सन्दर्भमा संसदमा भइरहेको बहसलाई थप गम्भीर र जिम्मेवार बनाउनुपर्ने माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले भने— यस्ता घटना केवल औपचारिक संवेदनामा सीमित नराखी दोहोरिन नदिन राज्य र संसदले ठोस जिम्मेवारी लिनुपर्छ।
‘यो देशमा दिनमा १८ जना मान्छेले आत्महत्या गर्छन् भनिन्छ। त्यसको कारण कानुन हो, समाज हो, राज्य हो, मनोसामाजिक अवस्था हो वा मानसिक स्वास्थ्यसँग सम्बन्धित विषय हो— यसमा गम्भीर छलफल हुनु जरुरी छ,’ उनले भने।
कार्कीले कानुनका कारण समस्या सिर्जना भइरहेको भए त्यसको जिम्मेवारी कानुन बनाउने संसदले नै लिनुपर्ने बताए। ‘त्यो कानुन बनाउने कसले हो त? यही संसदले होइन? अर्को गणेश नेपाली बन्नबाट रोक्नका लागि गर्ने छलफल खोइ?’ उनले प्रश्न उठाए।
सांसद कार्कीले आफू सत्ता पक्षको बचाउ गर्न नभई मानवीय संवेदनाको पक्षमा उभिएको स्पष्ट पारे। ‘मान्छेको जीवनभन्दा भारी तर्क अर्को कुनै पनि हुँदैन। कुनै पनि तर्कले गुमेको मान्छेको जीवनको अन्त्य सही थियो भनेर कसैले दाबी गर्न सक्दैन। त्यो औकात मसँग पनि छैन, यो संसदसँग पनि छैन, राज्यसँग पनि छैन,’ उनले भने।
उनले गणेश नेपालीको मृत्युमा राज्यको कमजोरी रहेको स्वीकार गर्नुपर्ने बताए। साथै, राज्यको संरचना भर्खर बनेको नभई विगतदेखि नै रहेको भन्दै समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए।
कार्कीले घटनासँग जोडिएको जरिवाना लगायतका साँघुरा विषयमा मात्र अड्किएर बहस गर्नुले वास्तविक समस्या समाधान नहुने चेतावनी दिए। ‘१० हजार जरिवाना भनेर भ्रम फैलिरहेको छ। त्यो सही हो कि होइन भन्नेमा मात्रै चासो देखिँदैछ। घटनालाई अझ बढी दुखान्त र भावनात्मक बनाउने प्रवृत्ति भइरहेको छ,’ उनले भने।
अन्त्यमा, सांसद कार्कीले गणेश नेपालीप्रति पुनः हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै भने, ‘म मनैदेखि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मेरा भागमा पर्ने गल्तीहरू स्वीकार गर्दछु।’ उनले अर्को गणेश नेपाली बन्न नदिन कानुन, राज्य व्यवस्था र सामाजिक अवस्थाबारे संसदमा गम्भीर छलफल हुनुपर्ने आग्रह गरे।
