राजनिती

गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छ : सभापति गगन थापा

By अर्जुन भट्टराई •

गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छ : सभापति गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले यो घटनालाई समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने अत्यन्त पीडादायी क्षण भएको बताएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ । यो समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो ।’

थापाले यो विषयलाई राजनीतिक बहस वा दोषारोपणको रूपमा नहेरी एउटा नागरिकको जीवन, परिवारको पीडा र मानवीय संवेदनाका दृष्टिले हेर्न सबैलाई आग्रह गरेका छन् । उनले गणेश नेपालीका आश्रित परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सबैले आ-आफ्नो ठाउँबाट सोच्नुपर्ने पनि बताएका छन् ।

विगत र वर्तमानमा कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने उनको भनाइ छ । थापाले प्रश्न उठाएका छन्, ‘एउटा युवा किन यति निराश हुन्छ ? आफ्ना पीडा सुनाउन किन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था सिर्जना हुन्छ ?’

उनले थप प्रश्न गरेका छन्, ‘राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् ?’

थापाले समाज, परिवार, राज्य र नागरिकका रूपमा कहाँ कमजोरी भयो भन्ने विषयमा इमानदार समीक्षा आवश्यक रहेको जोड दिएका छन् । उनले भनेका छन्, ‘यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ ।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.