काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहबाट भएको मृत्युको घटनालाई राज्यको चरम असफलताको संकेत भन्दै सरकारसँग कडा जवाफ माग गरेका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नेता पुनले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गरे र यो घटनाले आफू स्तब्ध बनाएको बताए। उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रधानमन्त्रीको २०७९ साल माघ १२ गते (२६ जनवरी २०२३) को स्टाटस उद्धृत गर्दै भने, ‘एकजना नागरिक आफूले देखेको प्रगतिका लागि सक्ने सबै कर्म गर्छन्। एकजना नागरिक आफूले चिनेका सबैलाई आफ्नो विगत र आगत वर्णन गर्दै आत्महत्या गर्न लागेको खबर गर्छन्। एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र संकेत होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’
पुनले नयाँ आशा र विश्वासका साथ जनमत लिएर आएका प्रधानमन्त्रीको शासनकालमै यस्तो घटना हुनु राज्यको भूमिकामाथि गम्भीर प्रश्न उठाउँछ भन्दै सोधे, ‘के यो राज्यको असफलता हो? या गरिब, दुःखी, विपन्न र सुकुम्बासीहरू राजधानी वा देशभरि बाँच्न पाउँदैनन्, गरी खान पाउँदैनन् भन्ने संकेत हो?’ उनले सत्तामा पुगेपछि प्रधानमन्त्रीको दृष्टिकोण नै बदलिएको हो कि भन्दै सीधा जवाफ माग गरे।
यसैगरी नेता पुनले आफ्नो गृहजिल्ला रोल्पामा बढ्दो सडक दुर्घटनाप्रति सरकारको ध्यान खिचे। उनले गत २४ गते भएको दुर्घटनामा १९ जना घाइते भएको र चार जनाको अवस्था गम्भीर रहेको जानकारी दिए। उनका अनुसार गत वर्ष रोल्पामा यस्तै दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने यस वर्ष मात्रै ३८ जनाले ज्यान गुमाइसकेका छन्। सवारी साधनको अवस्था, सडकको गुणस्तर, चालकको लापरबाही, यात्रुको चाप, मौसमी अवस्था वा प्रशासनिक कमजोरी — यीमध्ये कुन कारण जिम्मेवार छ भन्ने विषयमा सरकारले छानबिन गर्नुपर्ने उनको माग थियो।
सँगसँगै पुनले कम्बोडियामा हिरासतमा रहेका नेपाली नागरिकको उद्धारका लागि तत्काल पहल गर्न सरकारलाई आग्रह गरे। रोल्पाको सुनिल स्मृति गाउँपालिका–६ का एक नागरिकसहित लुम्बिनी प्रदेशका १५ जना नेपाली तीन महिनादेखि कम्बोडियामा हिरासतमा रहेका छन्। उनले भने, ‘मैले परराष्ट्र मन्त्रालयका विभिन्न च्यानलमा पनि जानकारी गराइसकेको छु। उहाँहरूको अवस्थाबारे तत्काल जानकारी लिने र छिटोभन्दा छिटो उद्धार गर्ने काम सरकारले गरोस्।’ अन्तमा, वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउनेतर्फ पनि सरकारले गम्भीर ध्यान दिनुपर्ने उनले जोड दिए।
