राजनिती

राइड सेयरिङ सवारीलाई छुट्टै पहिचान चिन्ह दिन सांसद आशिका तामाङको माग

By अर्जुन भट्टराई •

राइड सेयरिङ सवारीलाई छुट्टै पहिचान चिन्ह दिन सांसद आशिका तामाङको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले राइड सेयरिङ सेवामा आबद्ध युवाहरूको समस्यातर्फ सरकारको ध्यान खिचेकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनप्रति गहिरो दुःख व्यक्त गरिन्।

सांसद तामाङका अनुसार राइड सेयरिङ सेवामा कार्यरत गणेश नेपालीले त्रिपुरेश्वरमा यात्रु छोडेपछि आफ्नो राहदानीसम्बन्धी काम मिलाउन मोटरसाइकल पार्क गरेर कार्यालय गएका थिए। सोही बेला महानगरपालिकाले उनको सवारीमा ह्विल लक लगायो। यो घटनाले उनीमा गहिरो मानसिक तनाव सिर्जना भयो र अन्ततः उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरे।

‘त्यसपछिको मानसिक तनावका कारण उहाँले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्महत्या गर्ने प्रयास गरेको खबरले आज हामी अत्यन्त दुःखी भएका छौँ,’ उनले सदनमा भनिन्।

सांसद तामाङले यो घटनालाई एक व्यक्तिको दुःखद अन्त्य मात्र नभई राइड सेयरिङ क्षेत्रमा काम गर्ने हजारौँ युवाले दैनिक भोगिरहेका व्यावहारिक समस्याको प्रतिबिम्बका रूपमा हेर्न राज्यलाई आग्रह गरिन्। ‘यस्ता युवाहरूलाई अनावश्यक रूपमा दुःख दिने होइन, उनीहरूको काम गर्ने वातावरणलाई सुरक्षित र सहज बनाउनु राज्यको दायित्व हो,’ उनले थपिन्।

उनले सरकारसँग माग गर्दै भनिन् कि राइड सेयरिङ सेवामा आबद्ध सवारी साधनलाई छुट्टै स्टिकर वा आधिकारिक पहिचान चिन्ह उपलब्ध गराइनुपर्छ, ताकि ट्राफिक प्रहरी र स्थानीय तहका निकायले टाढैबाट ती सवारी पहिचान गर्न सकून् र यस्ता घटनाको पुनरावृत्ति रोकिन सकोस्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.