राजनिती

आज तीन संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची?

By अर्जुन भट्टराई •

आज तीन संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची?

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बिहीबार बस्ने भएको छ । कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक छुट्टाछुट्टै समयमा हुने जानकारी दिइएको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ८:३० बजे बस्नेछ । यस बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०६३ पेस गरी छलफल हुनेछ । साथै, विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी उपसमितिको समयावधि थप र अन्य विविध विषयमा पनि छलफल हुनेछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे बस्नेछ । यस बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतका अनुसन्धान केन्द्र तथा कार्यक्रमहरूमा संसदीय अनुगमन टोलीले गरेका स्थलगत भ्रमण र अन्तरक्रियाको समीक्षामा छलफल हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजे बस्नेछ, जसमा समितिको कार्यविधि र अन्य विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.