राजनिती

रुग्ण आयोजना र भुक्तानी समस्या समाधानमा प्रधानमन्त्री सकारात्मक, निर्माण व्यवसायीसँग बालुवाटारमा छलफल

By अर्जुन भट्टराई •

रुग्ण आयोजना र भुक्तानी समस्या समाधानमा प्रधानमन्त्री सकारात्मक, निर्माण व्यवसायीसँग बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान र भौतिक पूर्वाधार विकासका विषयमा आज बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग विस्तृत छलफल गरे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (बालुवाटार) मा भएको करिब एक घण्टाको भेटघाटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रलाई मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको मेरुदण्ड बताउँदै यस क्षेत्रका व्यावहारिक अड्चन हटाउन सरकार सकारात्मक रहेको स्पष्ट पारे। विकास निर्माणका काम समयमै सम्पन्न गर्न तथा निर्माण व्यवसायलाई पारदर्शी र जिम्मेवार बनाउन सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य हुनुपर्नेमा उनले जोड दिए।

छलफलमा महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त र महासचिव शिवहरि घिमिरेलगायत पदाधिकारीहरूले भुक्तानीको ढिलाइ, ठेक्का व्यवस्थापनमा जटिलता, म्याद थप, मूल्य समायोजन र सार्वजनिक खरिद ऐन सुधारलगायतका दीर्घकालीन समस्याहरू प्रधानमन्त्रीसमक्ष राखे। निर्माण सामग्रीको उपलब्धता र बैंकिङ लगानीमा देखिएका अवरोधबारे पनि जानकारी गराइयो। महासंघले यी विषयहरू समेटिएको लिखित सुझावसमेत प्रधानमन्त्रीलाई बुझायो।

छलफलपछि महासचिव घिमिरेले प्रधानमन्त्री निर्माण क्षेत्रका समस्याप्रति गम्भीर र सकारात्मक देखिएको जानकारी दिए। उनका अनुसार रुग्ण आयोजनाको समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै नेतृत्वमा विशेष अध्ययन गरी पहल अघि बढाउने र मूल्य समायोजनका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका छन्।

सार्वजनिक खरिद ऐन र नियमावली संशोधनमा सरकारले देखाएको तत्परताले निर्माण व्यवसायीहरूमा नयाँ उत्साह थपिएको छ र समस्याहरू चाँडै समाधान हुनेमा उनीहरू आशावादी देखिएका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.