काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले सरकारको व्यवहारलाई ‘उम्लिएको दूध’सँग तुलना गर्दै सरकार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गरे ।
बिहीबार काठमाडौंको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘पत्रकार भाइबहिनीहरूले अक्सर प्रश्न सोध्ने गर्नुहुन्छ — १०० दिनको सरकारको कार्यकाल कस्तो लाग्यो भनेर। तपाईंहरू आफैँले सुकुम्बासीका फोटो छापिराख्नुभएको छ, बालबालिका धरधरी रोएका तस्बिरहरू प्रसारित गरिराख्नुभएको छ, बस्तीहरूमा डोजर चलाएका दृश्यहरू देखाइराख्नुभएको छ।’
उनले अहिले नेपालमा खुसी हुने ठाउँ नै नरहेको भन्दै भने, ‘नेपालमा अहिले खुसी हुनका लागि अन्तर्राष्ट्रिय फुटबल गेम हेर्दै राति अबेरसम्म बस्नुपर्ने अवस्था छ। एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन। सरकारको व्यवहार अचम्मको छ।’
सरकारको अवस्थालाई बुझाउन ओलीले उम्लिएको दूधको उदाहरण दिए । उनले भने, ‘दुई माना दूध एक पाथी जाने भाँडामा तताउँदा भरिएर पोखिए पनि त्यो वास्तविक रूपमा भरिएको हुँदैन, केवल उम्लिएको हुन्छ। अहिले यो सरकार कहाँ ठेगानमा छ ? यसका खुट्टा कहाँ भुइँमा छन् ? दूध भाँडाको पिँधमा छैन, थोरै भए पनि उम्लिएको छ।’ उनले सरकारका १०० दिनका काम पनि त्यस्तै ‘उम्लिएको’ अवस्थामा रहेको दाबी गरे ।
कार्यक्रममा ओलीले एमाले सकिएको भन्ने टिप्पणीप्रति पनि आपत्ति जनाए । उनले भने, ‘मान्छेहरू एमाले सकियो, एमाले सकियो भन्छन् । एमाले सकिन जन्मेको पार्टी होइन । यो त बढ्न, सफल हुन र देश बनाउन जन्मेको पार्टी हो।’ उनले एमाले कठिन परिस्थितिमा पनि नआत्तिने र नमात्तिने पार्टी भएको उल्लेख गर्दै पार्टी निरन्तर अघि बढिरहने बताए ।
