काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले भने कि राष्ट्रिय मानवअधिकार आयोग केवल एक संवैधानिक संस्था मात्र नभई विश्व मानवअधिकार प्रणालीसँग जोडिएको महत्वपूर्ण संरचना हो। उनका अनुसार यो आयोगले संयुक्त राष्ट्रसंघीय लगायत अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको मानवअधिकार अवस्थाबारे विश्व समुदायलाई जानकारी गराउँदै आएको छ।
सांसद केसीले आयोगको प्रतिवेदन र सिफारिसहरूलाई बेवास्ता गर्नु राष्ट्रिय मानवअधिकार आयोगको अवमूल्यन मात्र नभई अन्तर्राष्ट्रिय प्रतिबद्धता र विश्वसनीयतामाथि प्रश्न उठाउनु हो भन्दै यसले विधिको शासन र लोकतन्त्रकै छविलाई उपहास गर्ने काम गर्ने बताए।
उनले आयोगका अध्यक्षकै भनाइ उद्धृत गर्दै हालसम्म आयोगका सुझावमध्ये करिब १३ प्रतिशत मात्र कार्यान्वयन भएको उल्लेख गरे। यस्तै, आयोगका सदस्य लिली थापाको प्रतिवेदन अझैसम्म सार्वजनिक नहुनु दुःखद र खेदपूर्ण रहेको उनले बताए।
सांसद केसीले सो प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न, सांसदहरूलाई उपलब्ध गराउन र आवश्यक कानुनी कारबाही तत्काल सुरु गर्न सरकारसँग माग गरे।
