राजनिती

सांसद बरालको प्रश्न : ‘नियमावली प्रतिपक्षका लागि मात्रै हो भने दस्ताबेजमै लेखिदिनुस्’

By अर्जुन भट्टराई •

सांसद बरालको प्रश्न : ‘नियमावली प्रतिपक्षका लागि मात्रै हो भने दस्ताबेजमै लेखिदिनुस्’

काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले संसदको नियमावली सत्तापक्ष र प्रतिपक्ष दुवैलाई समान रूपमा लागू हुनुपर्ने माग गरेकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसदहरूलाई बोल्ने क्रममा विषयमा केन्द्रित रहन सभामुखले पटक–पटक आग्रह गर्नुपर्ने अवस्था आउनु दुःखद रहेको बताइन् । विरोध गर्दा पनि निश्चित विषयभित्रै रहेर धारणा राख्दा त्यसको औचित्य पुष्टि हुने उनको भनाइ थियो ।

सांसद बरालले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिसम्बन्धी विषय उठाउँदै त्यसलाई संसदको रेकर्डबाट हटाउने वा रुलिङ गर्ने काम किन भएन भनी प्रश्न गरिन् । उनले नियमावली सत्तापक्षलाई पनि समान रूपमा लागू हुन्छ कि हुँदैन भन्ने विषयमा सभामुखमार्फत स्पष्ट पार्न माग गरिन् ।

उनले भनिन्, ‘यदि यो नियमावली प्रतिपक्षका लागि मात्रै हो भने दस्ताबेजमै लेखिदिनुस्— सत्तापक्षका लागि होइन भनेर । होइन भने यो विषयमा सम्माननीय सभामुखमार्फत रुलिङ गरिदिनुस् ।’

उनले विपक्षी बेन्चबाट एक जना सदस्यले बोलिसकेपछि दैनिक कार्यसूचीमा प्रवेश गर्न सबै सांसदले सहयोग गर्नुपर्ने पनि आग्रह गरिन् ।

सांसद बरालले सुकुम्बासी नागरिकको अवस्थातर्फ पनि सरकारको ध्यान तान्दै गरिब नागरिकलाई विस्थापित गर्ने वा न्यून रकम दिएर सडकमा धकेल्ने काम मानवअधिकारको गम्भीर विषय भएको बताइन् ।

सार्वजनिक यातायातको रङ परिवर्तन गर्ने सरकारी निर्णयतर्फ संकेत गर्दै उनले यस्ता कार्यक्रम देशभर प्रभावकारी रूपमा लागू हुने हो कि केवल प्रचारका लागि मात्रै गरिएको हो भनी प्रश्न उठाइन् । सरकारका कतिपय निर्णय लोकप्रियता कमाउने उद्देश्यले आएका हुन् कि दीर्घकालीन विकासका लागि भन्ने पनि उनले जिज्ञासा राखिन् ।

सांसद बरालले जनतामाथि हुने शोषण, दमन र हस्तक्षेपका विषयमा सरकार गम्भीर हुनुपर्ने बताउँदै संसदमा सत्तापक्ष र विपक्ष दुवैलाई समान व्यवहार हुनुपर्ने धारणा राखिन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.