राजनिती

गृहमन्त्रीका स्वकीय सचिवले फोन नउठाउने गुनासो, सांसद बानुले संसदमा उठाइन् आवाज

By अर्जुन भट्टराई

गृहमन्त्रीका स्वकीय सचिवले फोन नउठाउने गुनासो, सांसद बानुले संसदमा उठाइन् आवाज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले गृहमन्त्रालयको सम्पर्क प्रणाली र शान्ति सुरक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएकी छन्।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बानुले भनिन् कि नागरिकहरू आफ्ना समस्या गृहमन्त्रालयसम्म पुर्‍याउन खोज्दा सहज पहुँच पाउन सकिरहेका छैनन्।

‘गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने र फोन नउठाउने गुनासाहरू तारन्तार आइरहेका छन्,’ उनले भनिन्। ‘जनताको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको मन्त्रालयबाटै यस्तो व्यवहार हुनु अत्यन्त दुःखद छ।’

सांसद बानुले थपिन् कि नागरिकका समस्या सुन्नु सरकारको सबैभन्दा पहिलो दायित्व हो। सम्बन्धित निकाय वा मन्त्रालयबाटै गैरजिम्मेवार व्यवहार हुँदा राज्यप्रतिको जनविश्वास कमजोर हुने उनले चेतावनी दिइन्।

सांसद बानुले सत्तापक्षका सभापति रवि लामिछानेले जेन्जी जनआन्दोलनको विषयमा गम्भीरतापूर्वक सोची समाधानका लागि गरेको पहल र सहकार्यको भने प्रशंसा गरिन्। ‘उहाँको यस पहलले युवाहरूमा राज्यप्रतिको भरोसा जगाउने काम गरेको छ,’ उनले भनिन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.