राजनिती

संविधान संशोधनले नागरिकका अधिकार विस्तार गर्नुपर्छ : गगन थापा

By अर्जुन भट्टराई

संविधान संशोधनले नागरिकका अधिकार विस्तार गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन नागरिकका अधिकार घटाउन नभई झन् बढाउन र मजबुत बनाउन केन्द्रित हुनुपर्ने बताएका छन्।

‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक एक कार्यक्रममा बोल्दै थापाले संविधान संशोधनको प्रक्रिया स्वाभाविक र स्वागतयोग्य रहेको धारणा राखे। उनले संविधान जारी भएको झन्डै एक दशक पूरा हुन लागेकाले यसको पुनरावलोकन आवश्यक भइसकेको बताए।

उनले भने, ‘नागरिकहरूले प्राप्त गरेका अधिकारहरूलाई संकुचित गर्ने होइन, थप फैलाउने, विस्तार गर्ने र गहिरो बनाउने सन्दर्भमा संविधान संशोधन गरौँ भन्ने कुरा आफैंमा स्वागतयोग्य हो।’

थापाले थपे, ‘संविधानसभामार्फत नेपालको संविधान जारी भएको १० वर्ष पुग्न लागेको छ। संविधानले पनि पुनरावलोकनको परिकल्पना गरेको छ। कतिपय विषयमा त १० वर्षपछि संघीय संसद्ले पुनरावलोकन गर्नुपर्ने व्यवस्था समेत छ।’

संविधान संशोधनका क्रममा केही विषयमा सुरुदेखि नै सचेत रहनुपर्ने धारणा पनि उनले राखे। सशस्त्र द्वन्द्वपछिको कठिन संक्रमणकालीन परिस्थितिमा संविधान निर्माण भएको सम्झाउँदै उनले त्यस बेला संविधानप्रति व्यापक अपनत्व र स्वामित्व कायम गर्न राज्यले विभिन्न आन्दोलनरत पक्षहरूसँग समय-समयमा सम्झौता गरेको उल्लेख गरे।

उनले भने, ‘हामी दुई-तीनवटा कुराहरूमा प्रारम्भमै सचेत हुनुपर्छ। सशस्त्र द्वन्द्वपश्चातको संक्रमणकालको कठिन परिस्थितिबाट यो संविधान निर्माण भयो। त्यसैले संविधानमाथि आमअपनत्व र स्वामित्व स्थापित गर्न विभिन्न समयमा विभिन्न आन्दोलनहरूसँग राज्यले सम्झौता गरेको छ।’

थापाले संविधान संशोधनको बहस अघि बढाउँदा संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, भएका राजनीतिक सहमति र नागरिकका अधिकारको संरक्षणलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.