काठमाडौं । फिफाका प्रमुख रेफ्री अधिकारी पियरलुइजी कोलिनाले सन् २०२६ को विश्वकपमा रेफ्रीहरू पूर्णरूपमा स्वतन्त्र र निष्पक्ष रहेको दाबी गरेका छन् ।
प्रतियोगिताका केही निर्णयहरूलाई लिएर विवाद बढिरहेका बेला कोलिनाले भने, ‘कसैले पनि फिफा रेफ्रीहरू प्रभावित हुन्छन् भन्न सक्दैन। फिफा अध्यक्षले समेत हामीलाई पूर्ण स्वतन्त्रताका साथ काम गर्न विश्वास गर्नुभएको छ।’
विशेष गरी अर्जेन्टिना र इजिप्टबीचको ‘राउन्ड अफ १६’ को खेलमा भएका केही निर्णयहरूलाई लेकर विवाद चर्किएको थियो। उक्त खेलमा भीएआरको सहयोगमा रेफ्रीले इजिप्टको एउटा गोल रद्द गरेका थिए। रिभ्युमा इजिप्टका मिडफिल्डर मरवान अतियाले अर्जेन्टिनाका डिफेन्डर लिसेन्द्रो मार्टिनेजको खुट्टामा कुल्चिएको देखिएको थियो।
यसबारे कोलिनाले स्पष्ट पारे, ‘खुट्टामा कुल्चिनु फाउल हो। यदि रेफ्रीले मैदानमा त्यो देखेनन् भने भीएआरले हस्तक्षेप गर्न सक्छ। हामीले खेलका नियमहरू एकरूपताका साथ लागू गरेका छौँ।’
उनले रेफ्री टोलीको बचाउ गर्दै थपे, ‘समग्रमा हामी खुसी छौँ। छोटो समयमा धेरै खेलहरू हुँदा केही कुराहरू सोचेजस्तो नहुनु सामान्य हो। तर हाम्रा रेफ्रीहरू अर्को खेलका लागि अझ कडा परिश्रम गर्न तयार छन्।’
अमेरिकी खेलाडी फोलारिन बालोगुनको रेड कार्ड पश्चातको निलम्बन फिफाले फिर्ता लिएको र त्यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चासो रहेको भन्ने चर्चाका बीच पनि कोलिनाले रेफ्री विभाग पूर्णरूपमा स्वतन्त्र रहेको दोहोर्याए।
उता, इजिप्टका प्रशिक्षक होसाम हसनले फिफाले ‘फेयर प्ले’ को पालना नगरेको र अर्जेन्टिनालाई पक्षपोषण गरेको आरोप लगाएका थिए। उक्त खेलमा इजिप्ट २–० ले अगाडि रहे पनि अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो। अर्जेन्टिनाका लागि क्रिस्टियन रोमेरो, लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गर्दै टोलीलाई क्वार्टरफाइनलमा पुर्याएका थिए।
कोलिनाले रेफ्रीहरूविरुद्ध लगाइने आधारहीन आरोपले उनीहरू र उनीहरूका परिवारलाई मानसिक तनाव र खतरा पैदा गर्ने भन्दै यस्ता गतिविधि नगर्न सबैलाई आग्रह गरेका छन्। ४८ टोली सहभागी यस बृहत् विश्वकपमा रेफ्रीको स्तर र निष्पक्षता कायम राख्न फिफा प्रतिबद्ध रहेको उनले बताए।
