काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गरे।
मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहसँगै दुवै मन्त्रीले ‘हेलो सरकार’ शाखा भ्रमण गर्दै गुनासो व्यवस्थापन प्रणाली, सेवा प्रवाह र गुनासो फर्छ्योटको अवस्थाबारे विस्तृत जानकारी लिए।
अवलोकनका क्रममा दुवै मन्त्रीले नागरिकका गुनासाप्रति गम्भीर हुन र प्रभावकारी समन्वयका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए। उनीहरूले सम्बन्धित मन्त्रालयले गुनासा समयमै सम्बोधन गर्न तत्पर रहेको पनि बताए।
गुनासोको संख्या बढ्दै जानुले वर्तमान सरकारप्रति नागरिकको विश्वास बढेको उल्लेख गर्दै मन्त्री श्रेष्ठ र पौडेलले प्राप्त गुनासा समयमै फर्छ्योट गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। मन्त्रालयसँग सम्बन्धित गुनासाको छिटो सम्बोधनका लागि समन्वय संयन्त्रलाई थप प्रभावकारी बनाइने पनि उनीहरूले बताए।
‘हेलो सरकार’ पछिल्लो समय सरकारी निकाय र नागरिकबीच संवादको एक प्रभावकारी केन्द्रीय प्लेटफर्मका रूपमा विकसित हुँदै गएको छ। सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूचीअनुसार यसलाई चौबिसै घण्टा सञ्चालनमा ल्याइएको छ। बहुच्यानल प्रणाली, आधुनिक प्रविधि तथा सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय हुने एकीकृत प्रणालीमार्फत गुनासो व्यवस्थापनलाई थप सुदृढ बनाउने काम अघि बढिरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार असार २४ गतेसम्म ‘हेलो सरकार’ प्रणालीमा कुल एक लाख ३१ हजार ८७५ गुनासा तथा उजुरी प्राप्त भएका छन्, जसमध्ये करिब ७० प्रतिशत गुनासा फर्छ्योट भइसकेका छन्।
