राजनिती

उखु किसानको अनुदान तत्काल दिन सांसद शाहको माग, मन्त्रालयमाथि आनाकानीको आरोप

By अर्जुन भट्टराई •

उखु किसानको अनुदान तत्काल दिन सांसद शाहको माग, मन्त्रालयमाथि आनाकानीको आरोप

काठमाडौं। नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले उखु किसानलाई सरकारले दिनुपर्ने अनुदान रकम तत्काल भुक्तानी गर्न माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहले बर्दियाको राजापुर नगरपालिका–५ बदालपुरस्थित राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रि प्राइभेट लिमिटेडले किसानबाट खरिद गरेको उखुको मूल रकम भुक्तानी गरिसकेको भए पनि सरकारले दिनुपर्ने अनुदान रकम भने अझैसम्म उपलब्ध नगराएको बताए।

उनका अनुसार, उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंमा २०८० साल भदौ २५ गते दर्ता भएको उक्त कम्पनीले २०८२ साल पुस २२ गतेदेखि चैत १२ गतेसम्म किसानहरूसँग लाखौँ क्विन्टल उखु खरिद गरेको छ। कम्पनीले किसानलाई प्रति क्विन्टल ६२० रुपैयाँका दरले तिर्नुपर्ने सम्पूर्ण रकम भुक्तानी गरिसकेको छ। तर नेपाल सरकारले उखु कृषक अनुदानबापत दिनुपर्ने प्रति क्विन्टल ७० रुपैयाँ भने अहिलेसम्म पनि किसानले पाएका छैनन्।

सांसद शाहले कृषि मन्त्रालयको कार्यविधि २०७५ को दोस्रो संस्करण २०७६ अनुसार किसानले पाउनुपर्ने अनुदान रकम उपलब्ध गराउन सरकारको ध्यान खिचे। उनले मन्त्रालय नै यो रकम भुक्तानी गर्न आनाकानी गरिरहेको भन्दै सभामुखमार्फत सरकारसँग यथाशीघ्र रकम निकासा गर्न आग्रह गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.