राजनिती

प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिसँग आर्थिक सुधारबारे छलफल गरे

By अर्जुन भट्टराई

प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिसँग आर्थिक सुधारबारे छलफल गरे

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग उच्चस्तरीय छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सम्पन्न बैठकमा मुलुकको आर्थिक गतिविधिलाई चलायमान र सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई सहज बनाउने, लगानीमैत्री वातावरण तयार गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने र रोजगारी सृजना तथा उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल भयो।

प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारको महत्त्वपूर्ण साझेदार बताउँदै उद्योगी व्यवसायीहरूले भोग्दै आएका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको स्पष्ट पारे। साथै उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेर अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार र निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव दिए। प्रधानमन्त्री शाहले ती सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायमार्फत आवश्यक सुधार अघि बढाइने बताए।

उक्त छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी थिए।

यस उच्चस्तरीय छलफलबाट उद्योग व्यवसाय प्रवर्द्धन, लगानी वातावरणमा सुधार र सरकार तथा निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.