काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले अत्याधुनिक खाद्य प्रयोगशालाको उद्घाटन गरेको छ। बुधबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यो प्रयोगशालाको उद्घाटन गरिन्।
महानगरका अनुसार यो प्रयोगशालाले खाद्य निरीक्षणलाई बलियो बनाउँदै नागरिकलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्यवस्तुको पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। साथै, उपभोक्ता हित संरक्षण, खाद्यजन्य रोगको न्यूनीकरण र खाद्य व्यवसायमा गुणस्तर कायम राख्न पनि यसले सहयोग पुर्याउनेछ।
उद्घाटनपछि सञ्चारकर्मीसँग बोल्दै कार्यवाहक प्रमुख डङ्गोलले अहिलेसम्म आफ्नै प्रयोगशाला नहुँदा खाद्य अनुगमनमा ठूलो समस्या भोग्नुपरेको बताइन्। उनले भनिन्, ‘कहिलेकाहीँ दण्ड जरिवाना पनि गर्नुपर्ने हुन्छ। त्यस क्रममा हामीलाई ल्याब टेस्टको आवश्यकता पर्छ। तर टेस्ट गर्न लामो समय लाग्ने र आफ्नै संरचना नहुँदा अरूमा निर्भर हुनुपर्ने अवस्था थियो।’
उनले अब महानगरकै प्रयोगशाला सञ्चालनमा आएपछि धेरै परीक्षण स्थानीयस्तरमै गर्न सकिने र अनुगमनको काम झन् सहज तथा तीव्र हुने विश्वास व्यक्त गरिन्। ‘यो सुरुवात हो, अझ यसलाई विस्तार गर्दै जानेछौँ। अनुगमनमा जाँदा महत्वपूर्ण काम भनेको नमुना परीक्षण हो। अब आफ्नै ल्याब भएपछि अनुगमनको कामलाई धेरै हदसम्म सहज र तीव्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ,’ उनले भनिन्।
