खेलकुद

मेस्सी विश्वकै उत्कृष्ट र इतिहासकै महान खेलाडी : अल्भारेज

By अर्जुन भट्टराई

मेस्सी विश्वकै उत्कृष्ट र इतिहासकै महान खेलाडी : अल्भारेज

काठमाडौं। अर्जेन्टिनाका युवा फरवार्ड जुलियन अल्भारेजले आफ्ना कप्तान लियोनल मेस्सीलाई विश्वकै उत्कृष्ट तथा फुटबल इतिहासकै महान खेलाडी भनी बताएका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टविरुद्धको रोमाञ्चक पुनरागमन जितपछि अल्भारेजले मेस्सीको प्रशंसामा यी भावना व्यक्त गरेका हुन्।

अन्तिम १६ को उक्त खेलमा अर्जेन्टिना २–० ले पछि परेको थियो। क्रिस्टियन रोमेरोले ७९औँ मिनेटमा हेडरमार्फत गोल गरेपछि खेलमा रोमाञ्च थपियो। त्यसलगत्तै मेस्सीले ८३औँ मिनेटमा बराबरी गोल गरे र अन्तमा इन्जो फर्नान्डेजले इन्जुरी समयमा विजयी गोल ठोक्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए। यसरी अर्जेन्टिनाले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गर्यो।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अल्भारेजले भने, ‘लियोका लागि भन्नुपर्ने शब्द नै बाँकी छैनन्। उनले खेलिरहेको यो विश्वकप निकै प्रभावशाली छ। हामी उनलाई सहयोग गर्ने, साथ दिने र उनको साथमा हरेक क्षणको आनन्द लिने प्रयास गरिरहेका छौँ। उनी एक लिजेन्ड हुन् — विश्वकै उत्कृष्ट र इतिहासकै महान खेलाडी।’

इजिप्टविरुद्धको गोलसँगै मेस्सीले विश्वकप इतिहासमा थुप्रै नयाँ कीर्तिमान कायम गरेका छन्। उनी लगातार नौ विश्वकप खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। जारी विश्वकपमा उनको गोल संख्या आठ पुगेको छ, जुन एउटै विश्वकप संस्करणमा उनको अहिलेसम्मकै सर्वश्रेष्ठ प्रदर्शन हो। यससँगै उनको विश्वकप करियर गोल संख्या २१ पुगेको छ।

तथ्यांक संस्था अप्टाका अनुसार मेस्सी विश्वकपको नकआउट चरणका लगातार ६ खेलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन्। साथै उनले सन् १९३० मा गुइलेर्मो स्टाबिलेले बनाएको अर्जेन्टिनाका लागि एउटै विश्वकपमा ८ गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका छन्।

तर खेलको पहिलो हाफमा मेस्सी पेनाल्टीमा चुके। इजिप्टका गोलरक्षक मोस्तफा शोबेरले उनको प्रहार रोकेका थिए। यससँगै मेस्सी एउटै विश्वकप संस्करणमा दुई पटक पेनाल्टी असफल हुने (टाइब्रेकर बाहेक) पहिलो खेलाडी बनेका छन् र विश्वकप इतिहासमा उनको जम्मा चार पेनाल्टी असफलता सबैभन्दा धेरै हो।

पेनाल्टीमा चुकेपनि मेस्सीले दोस्रो हाफमा आफ्नो वर्चस्व देखाए र पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली प्रहार गर्दै बराबरी गोल गरे। इजिप्टमाथिको यस जितसँगै साविक विश्वविजेता अर्जेन्टिनाले उपाधि रक्षा अभियानलाई निरन्तरता दिएको छ। अब क्वार्टरफाइनलमा अर्जेन्टिनाको सामना स्वीट्जरल्यान्डसँग हुनेछ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.