राजनिती

अधुरा खानेपानी योजनाले दशकौँदेखि जनता पिडित, बजेट एकमुष्ट दिन भण्डारीको आग्रह

By अर्जुन भट्टराई

अधुरा खानेपानी योजनाले दशकौँदेखि जनता पिडित, बजेट एकमुष्ट दिन भण्डारीको आग्रह

काठमाडौं । पूर्वाधार विकास समितिका सचिव उदयकुमार भण्डारीले नेपालमा पानीको अभाव नभई व्यवस्थापनको कमजोरीका कारण नागरिकले खानेपानीको समस्या भोग्न बाध्य भएको बताएका छन्।

आज बसेको समितिको बैठकमा बोल्दै सचिव भण्डारीले खानेपानी आयोजनाहरू वर्षौंसम्म अधुरै रहने गरेकाले जनताले समयमै सेवा पाउन नसकेको बताए। उनले आफ्नै गाउँको उदाहरण दिँदै भने कि पाँचवटै वडामा खानेपानी आयोजना सञ्चालनमा छन्, तर अधिकांश अझै अपूरा छन्। १० वर्षअघि खानेपानी आउँछ भन्ने आशामा खुसी भएका स्थानीय जनताले एक दशक बितिसक्दा पनि पानी पाउन सकेका छैनन्।

उनले भने, ‘हाम्रो देशमा पानीको कमी छैन, व्यवस्थाको कमी छ। १० वर्ष पहिला नै खानेपानी ल्याउँदैछौं भनेर खुसी भएका जनताले १० वर्षपछि पनि खानेपानी पाएका छैनन्।’

भण्डारीले खानेपानी तथा डिप बोरिङ जस्ता आयोजनाको बजेट चरण–चरणमा विनियोजन नगरी एकमुष्ट उपलब्ध गराउन सरकारसँग आग्रह गरे। उनले भने, ‘कुनै पनि खानेपानी वा डिप बोरिङ योजना लागू हुन्छ भने त्यसको बजेट एकै चोटि दिनुपर्छ, पटकपटक गरेर हुँदैन। तराईमा यो महिनादेखि सुखाग्रस्त घोषणा हुने अवस्था छ।’

सचिव भण्डारीले डिप बोरिङ मात्र खानेपानी समस्याको स्थायी समाधान नभएको पनि स्पष्ट पारे। जलवायु परिवर्तनका कारण तराई मात्र नभई पहाडी तथा हिमाली क्षेत्रमा समेत पानीका स्रोत सुक्दै गएको उनले बताए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.