काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले लोकतन्त्रमा नियम सबैले समान रूपमा पालना गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चेतावनी दिए— नियम पालनामा विभेद भयो भने लोकतन्त्र अराजकतातर्फ धकेलिन्छ।
उनले सदन पनि बिस्तारै अराजकतातर्फ उन्मुख हुन थालेको महसुस भएको बताउँदै सभामुखले संविधान र नियमावलीअनुसार प्रधानमन्त्री, मन्त्री तथा सरकारी पदाधिकारीहरूलाई नियमित रूपमा संसद्मा उपस्थित गराउनुपर्ने भूमिका खेल्न आग्रह गरे।
‘लोकतन्त्रमा नियम मान्नुपर्छ। एक थरीले मात्रै नियम मान्ने र अर्को थरीले नमान्ने अवस्था आयो भने त्यसले अराजकता निम्त्याउँछ,’ उनले भने।
सामाजिक सञ्जालमा बढ्दै गएको गालीगलौज र अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोगप्रति पनि उनले गम्भीर चिन्ता व्यक्त गरे। प्रधानमन्त्री तथा मन्त्रीलाई गाली गर्नेमाथि कारबाही हुने, तर सांसदलाई धम्की दिनेमाथि समान कारबाही नहुने विषयमा उनले प्रश्न उठाए। आफूलाई समेत ज्यान मार्ने र घर जलाइदिने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिए पनि कारबाही नभएको उनले बताए। सबै दलका नेता तथा कार्यकर्ताले अभिव्यक्तिको मर्यादा कायम राख्न सचेत हुनुपर्ने उनको आग्रह थियो।
दृष्टिविहीन व्यक्तिहरूले गरिरहेको आन्दोलनप्रति पनि सरकार गम्भीर हुनुपर्ने उनले बताए। उनीहरूको माग भत्ता मात्र नभई आफूले गर्न सक्ने काममा रोजगारीको अवसर पाउनु रहेको उनले स्पष्ट पारे।
‘उहाँहरू बसी–बसी खान चाहनुभएको होइन। फोन रिसिभ गर्ने, बसेर गर्न सकिने काममा रोजगारी दिनुस् भन्ने उहाँहरूको माग हो,’ साम्पाङले भने। एकैपटक सबैलाई सम्भव नभए पनि क्रमशः केही व्यक्तिबाट सुरुवात गर्न सकिने उनको सुझाव थियो।
साम्पाङले सुर्खेतमा बुद्धको मूर्तिलाई चेनले बाँधेर राखिएको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै गृह मन्त्रालय र सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्ने माग गरे।
सरकारी योजनाको निर्माण गुणस्तर कमजोर भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले निर्माणस्थलमा सरकारी प्राविधिक र निर्माण व्यवसायीका प्रतिनिधि अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बताए।
‘जनताले खाई–नखाई तिरेको कर दुरुपयोग हुनुहुँदैन। निर्माणस्थलमा सरकारी कर्मचारी र निर्माण व्यवसायीका प्रतिनिधि अनिवार्य हुनुपर्छ,’ उनले भने।
