काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर जवाफ दिन माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भने, ‘यो सदन जनताले पठाएका प्रतिनिधिहरूको हो। नियमावलीमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री आएर जवाफ दिनुपर्ने हुन्छ।’
उनले प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा व्यक्त गरेका धारणाप्रति प्रतिपक्षी दलहरूले असहमति जनाउँदै आएको उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीलाई संसद्मा बोलाउन आग्रह गरे।
सांसद राईले गाउँघरमा देखिएको बाँदरको समस्यातर्फ पनि सरकारको ध्यान आकर्षण गराए। यसअघि गठन भएको बाँदर नियन्त्रण कार्यदलले के काम गरिरहेको छ भन्ने जानकारी सदनलाई दिनुपर्ने उनको माग थियो। उनले भने, ‘नयाँ सरकार आइसकेपछि एउटा बाँदर नियन्त्रण गर्न सकिएन भने ठूलो समस्या बन्छ। यस विषयमा सरकारको जवाफ चाहन्छु।’
यसैगरी उनले बेलायत र हङकङमा रहेका पूर्व सैनिक नेपालीहरूलाई लक्षित गरेर केही गिरोहले दोहोरो भूमिका खेलिरहेको विषय उठाउँदै त्यस्ता गतिविधि रोक्न सरकारले आवश्यक कदम चाल्नुपर्ने माग गरे।
बैठकमा बोल्ने क्रममा सभामुखले आफ्नो माइक काटेकोमा पनि सांसद राईले असन्तुष्टि व्यक्त गरे। ‘मैले भाषा मिलाउन खोज्दै थिएँ, म अत्तालिएको थिइनँ। शब्द नै नगरिकन माइक काटिदिनुभयो,’ उनले भने। उनले सभामुखप्रति आफ्नो सम्मान रहेको स्पष्ट पार्दै सदनमा सांसदहरूले आफ्ना भावना र विचार स्वतन्त्र रूपमा राख्न पाउनुपर्ने बताए।
सांसद राईले प्रधानमन्त्री संसदमा आएर जवाफ नदिएसम्म प्रतिपक्षको आन्दोलन जारी रहने चेतावनी दिँदै संसद्लाई संवाद र सहमतिका आधारमा अगाडि बढाउन सबैसँग आग्रह गरे।
