काठमाडौं । बझाङ जिल्लाको सुर्मा गाउँपालिका–२ मा असार २२ गते राति भएको चट्याङले किसानलाई ठूलो आर्थिक धक्का दिएको छ। उक्त घटनामा रणबहादुर बोहोरा र लालचन्द्र बोहोराका करिब १०० वटा भेडा मरे भने थप ५० वटा घाइते भएका छन्। यस घटनाबाट दुवै किसानलाई ३० देखि ४० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।
नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महरले बुधबार प्रतिनिधिसभाको बैठकमा यो विषय उठाउँदै पीडित किसानलाई सरकारले तत्काल राहत तथा क्षतिपूर्ति दिनुपर्ने माग गरे।
महरले भने, ‘मेरो गृह जिल्ला बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ मा २२ गते राति ठूलो चट्याङ परेर रणबहादुर बोहोरा र लालचन्द्र बोहोराको करिब १०० वटा भेडा मरे र ५० वटा जति घाइते भएका छन्। ३०-४० लाखभन्दा बढीको क्षति भएको छ। उहाँहरूको जिउने आधार नै मुख्यतः त्यही थियो।’
पशुपालन नै उनीहरूको जीविकाको मुख्य आधार भएकाले यो क्षति अत्यन्त गम्भीर रहेको बताउँदै महरले सरकारको ध्यानाकर्षण गराए। उनले थपे, ‘सरकारले कृषि प्रवर्द्धनको कुरा गरिरहेको छ। यसरी कृषि व्यवसाय गरिरहेका किसानहरूलाई सरकारले ध्यान दिनुपर्छ र उहाँहरूको क्षतिपूर्तिको व्यवस्था गरियोस्।’
