राजनिती

‘ट्राफिकलाई मात्र दोष दिएर हुँदैन, राइडरले आफ्ना कमजोरी पनि सच्याउनुपर्छ’ — स्वतन्त्र चालक फाउण्डेशन

By अर्जुन भट्टराई •

‘ट्राफिकलाई मात्र दोष दिएर हुँदैन, राइडरले आफ्ना कमजोरी पनि सच्याउनुपर्छ’ — स्वतन्त्र चालक फाउण्डेशन

काठमाडौं । ‘सुरक्षा हाम्रो जिम्मेवारी, सेवा हाम्रो पहिचान’ — यही नाराका साथ स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूलाई लक्षित गर्दै ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहेको छ। मंगलबार काठमाडौंको बालाजु बसपार्क क्षेत्रमा यसी अभियानअन्तर्गत एक जनचेतनामूलक कार्यक्रम आयोजना गरियो। उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा यो अभियान निरन्तर चलिरहेको छ।

ट्राफिक प्रहरीसँगको समन्वयमा आयोजित उक्त कार्यक्रममा ठूलो संख्यामा राइडरहरूको सहभागिता रह्यो। कार्यक्रममा ट्राफिक नियम पालना, हेल्मेटको अनिवार्य प्रयोग, अफलाइन राइड सेयर नगर्ने, राइडरको पहिचान खुल्ने पोसाक लगाउने र जिम्मेवार चालकको व्यवहार अपनाउन जोड दिइयो।

स्वतन्त्र चालक फाउण्डेशन नेपालकी अध्यक्ष रेश्मा बिसुन्केले संस्था २०८१ सालमा स्थापना भएको र देशभरका राइडरहरूको हकहितका लागि आवाज उठाउनु यसको मुख्य उद्देश्य रहेको बताइन्।

बिसुन्केले राइडरहरूले ट्राफिक प्रहरीलाई मात्र दोष लगाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताइन्। राइडर आफैंले पनि ट्राफिक नियम उल्लंघन गर्ने गरेको स्वीकार गर्दै आफ्ना कमजोरी सुधार्न जरुरी रहेको उनले स्पष्ट पारिन्।

उनले भनिन्, ‘हामी सधैं ट्राफिकले दुःख दियो, चिट काट्यो भनेर ट्राफिकलाई मात्रै दोष दिन्छौं। तर हाम्रो पनि कमजोरी हुन्छ, किन नसुध्रिने? कमजोरी पनि हामी आफैंले सच्याउनुपर्छ। त्यसैले राइडरहरूलाई ट्राफिक नियम पालना गर्न, सुरक्षित रूपमा सवारी चलाउन र जिम्मेवार बन्न आग्रह गर्न यो कार्यक्रम गरेका हौं।’

पछिल्लो समय अफलाइन राइडको प्रवृत्ति बढ्दै गएकोमा उनले गम्भीर चिन्ता व्यक्त गरिन्। अफलाइन सेवा दिँदा दुर्घटना भएमा बीमा दाबी गर्न समेत समस्या हुने भएकाले यस्तो अभ्यास तत्काल बन्द गर्न उनले आग्रह गरिन्।

राइडरका लागि छुट्टै पहिचान खुल्ने पोसाक हुनुपर्ने माग सरकारसमक्ष पनि राखिसकेको बिसुन्केले जानकारी दिइन्। उनले भनिन्, ‘राइडरले यस्तो पोसाक लगाउनुपर्छ। यसले सरकारलाई नियमन गर्न सजिलो हुन्छ भने राइडरको पहिचान पनि स्पष्ट हुन्छ।’

राइडरहरूको आर्थिक अवस्थाबारे उनले भनिन् कि अहिले पनि प्रतिकिलोमिटर ९–१० रुपैयाँमा काम गर्नुपर्ने बाध्यता छ। धेरै राइडर विद्यार्थी तथा दैनिक आम्दानीमा निर्भर भएकाले कम पारिश्रमिकमा पनि काम गर्न विवश छन्। उनले भनिन्, ‘बिहान काम गरेर बेलुका गुजारा गर्ने धेरै राइडर छन्। सरकारसँग पटक–पटक छलफल गरेका छौं, तर अपेक्षाअनुसार परिणाम आएको छैन।’

बिसुन्केले पठाओ, याङ्गो र इनड्राइभजस्ता राइड सेयरिङ कम्पनीहरूले राइडरको श्रमको उचित मूल्य नदिएको आरोप लगाइन्। सरकारले पनि राइड सेयरिङ क्षेत्रको स्पष्ट नीति–नियम बनाउन ढिलाइ गरेको भन्दै राइडर श्रमिक हुन् वा स्वरोजगार भन्ने विषय अझै अस्पष्ट रहेको उनले बताइन्।

दुर्घटनापछिको बीमा दाबी प्रक्रिया झन्झटिलो रहेकाले उपचारका लागि तत्काल रकम जुटाउन राइडरहरू एकअर्कासँग सहयोग संकलन गर्न बाध्य हुने अवस्था रहेको उनले उल्लेख गरिन्।

अन्तमा बिसुन्केले राइडरहरूबीच एकता कायम गरी संगठित हुन, कम्पनीहरूले उचित पारिश्रमिक र सुविधा दिन तथा सरकारले शीघ्र राइड सेयरिङसम्बन्धी स्पष्ट कानुन ल्याउन जोड दिइन्। उनका अनुसार राइडरको सुरक्षा, सामाजिक सुरक्षा, उचित पारिश्रमिक र सम्मान सुनिश्चित भए मात्र यो पेशा सुरक्षित र मर्यादित बन्न सक्छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.