राजनिती

महिला आयोगको काम संस्थागत प्रणालीमा आधारित हुनुपर्छ : सभापति अवस्थी

By अर्जुन भट्टराई

महिला आयोगको काम संस्थागत प्रणालीमा आधारित हुनुपर्छ : सभापति अवस्थी

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय महिला आयोगको कामकारबाही र प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल भएको छ।

बैठकमा समितिकी सभापति आकृति अवस्थीले राष्ट्रिय महिला आयोग एक संवैधानिक आयोग भएकाले यसको काम कुनै व्यक्तिमा निर्भर नरही संस्थागत प्रणालीका आधारमा अघि बढ्नुपर्ने बताइन्।

उनले भनिन्, ‘यो संवैधानिक आयोग हो, यो एउटा सिस्टम हो। आयोगमा पहिला को थियो, अहिले को छ भन्ने कुराले फरक पर्नु हुँदैन। विगतका कामलाई निरन्तरता दिँदै महिलासहित जो कोही पीडित हुनुहुन्छ, उहाँहरूलाई न्याय दिने काम यो संवैधानिक आयोगको हो।’

नेतृत्व परिवर्तन भएकै कारण कामको निरन्तरता प्रभावित हुन नहुने स्पष्ट पार्दै अवस्थीले आयोगले पीडितलाई न्याय दिलाउने दायित्वबाट पछि हट्न नहुने जोड दिइन्।

उनले आगामी दिनमा राष्ट्रिय महिला आयोगले पीडितको गोपनीयता, निष्पक्षता र समावेशितालाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गर्दै समितिको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाइन्। साथै आयोगका पदाधिकारीलाई धन्यवाद दिँदै समितिको अर्को बैठक २०८३ साल असार २५ गते बस्ने जानकारी दिइन्।

बैठकमा सांसद रीमा विश्वकर्माले समितिका छलफललाई अझ अन्तरक्रियात्मक बनाउनुपर्ने आवश्यकतामा जोड दिइन्। उनले आयोग सिफारिस गर्नमै सीमित भएको भन्दै कार्यान्वयन नभएका सिफारिसबारे सम्बन्धित निकायसँग स्पष्टीकरण माग्ने अधिकारको प्रयोग गर्नुपर्ने धारणा राखिन्।

सांसद विश्वकर्माले आयोगले गरेका अध्ययन–अनुसन्धानको कार्यसम्पादन सूचक, सार्वजनिक तथ्यांकको मूल्याङ्कनको आधार र महिला हेल्पलाइन सञ्चालनमा देखिएका चुनौतीबारे स्पष्ट जानकारी माग्नुका साथै महिला हिंसाका घटनाहरू सार्वजनिक बहसको विषय बन्नुअघि नै आयोगले प्रभावकारी हस्तक्षेप गर्न नसकेको कारणबारे पनि प्रश्न उठाइन्। आयोगका सदस्य तथा कर्मचारीको शैक्षिक योग्यता, हालको जनशक्ति अवस्था र समावेशिताको स्थितिबारे पनि जानकारी दिन उनले आग्रह गरिन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.