विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले एक सय दिन पूरा गरेको छ । जेनजी आन्दोलनको आधारमा परिवर्तनको नारा बोकेर करिब दुईतिहाइ जनमत प्राप्त गरी सत्तामा आएको यस सरकारले जनतासँग गरेका वाचाहरू कति पूरा भए भन्ने विषय अहिले सार्वजनिक चासोको केन्द्रमा छ ।
सरकारको ‘हनिमुन पिरियड’ मानिने पहिलो सय दिन पूरा भएसँगै कोशी प्रदेशका स्थानीयबासीले मिश्रित प्रतिक्रिया दिएका छन् । अधिकांशले सरकारप्रति विश्वास रहेको बताउँदै अब घोषणाभन्दा कार्यान्वयनमा प्रभावकारिता देखिनुपर्ने माग राखेका छन् ।
विराटनगरकी स्थानीय बुद्धिमाया धिमालले सरकारले साना व्यवसायीका लागि केही गर्ने भनेको भए पनि कार्यान्वयन पक्ष प्रभावकारी हुनुपर्नेमा जोड दिइन् । उनले सुकुम्बासीको उचित व्यवस्थापन नगरी सरकारले उनीहरूलाई बिचल्लीमा पारेको गुनासो पनि गरिन् ।
उतै विराटनगरकी विपना राजवंशीले भने महँगी बढेको भन्दै सरकारप्रति असन्तुष्टि जनाइन् । ‘विदेश जान चाहनेहरूलाई समेत सरकारले महँगीको थप भार थोपरेको छ,’ उनले भनिन् ।
धनकुटाका स्थानीय नवीनकुमार भुजेलले भने सरकारका कामलाई सकारात्मक दृष्टिले हेर्नुपर्ने बताए । अर्का स्थानीय श्रीमान कार्कीले भ्रष्टाचारमा संलग्नहरूमाथि सरकारले धमाधम कारबाही गरिरहेको भन्दै प्रशंसा गरे ।
इटहरीका ईश्वरीप्रसाद ओस्तीले सरकारको सय दिनको कामलाई सकारात्मक रूपमा लिन सकिने भए पनि आगामी दिनमा सरकार कसरी अघि बढ्छ भन्ने कुरा हेर्न बाँकी नै रहेको बताए ।
कोशी प्रदेशकी महत्वपूर्ण दुग्ध सहकारी संस्था कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकालले सरकारले विदेशबाट आउने दुग्धजन्य सामग्रीमा प्रतिबन्ध लगाएको कदमलाई सकारात्मक बताए । साथै उनले कृषकमैत्री नीति तथा कार्यक्रम ल्याएर सरकारले झनै प्रभावकारी ढंगले अघि बढ्नुपर्ने सुझाव दिए ।
