राजनिती

औद्योगिक क्षेत्रलाई अधिकारसम्पन्न र सबल बनाइन्छ : सभापति अन्सारी

By अर्जुन भट्टराई

औद्योगिक क्षेत्रलाई अधिकारसम्पन्न र सबल बनाइन्छ : सभापति अन्सारी

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका औद्योगिक क्षेत्रको वास्तविक अवस्था अध्ययन गरेर आवश्यक नीतिगत सुधारका लागि समिति सक्रिय रूपमा काम गर्ने बताएका छन्।

मंगलबार बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्थलगत निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति अन्सारीले औद्योगिक क्षेत्रको व्यवस्थापन, उद्योग सञ्चालनको अवस्था र श्रमिकहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन यो निरीक्षण गरिएको जानकारी दिए।

“देशभरिका औद्योगिक क्षेत्रहरूको व्यवस्थापन कसरी भइरहेको छ, अहिलेको वस्तुगत अवस्था के छ र कस्ता काम अगाडि बढेका छन् भन्ने बुझ्न हामी यहाँ आएका हौं। उद्योगभित्र मजदुरहरूको अवस्था कस्तो छ भन्ने पनि अध्ययन गरिरहेका छौं,” उनले भने।

स्थलगत अध्ययनबाट प्राप्त जानकारीका आधारमा समितिले उद्योगसँग सम्बन्धित नीति, कानुन र कार्यान्वयनका विषयमा सरकारसँग जवाफ माग्ने र आवश्यक सुधारका लागि पहल गर्ने उनले स्पष्ट पारे। “देखिएका समस्याको समाधानका लागि सम्बन्धित निकायसँग जवाफ खोज्ने काम गर्छौं,” उनले थपे।

सभापति अन्सारीले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई थप अधिकारसम्पन्न, प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्न समितिले आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। “यो लिमिटेडलाई अझ अधिकारमुखी र सबल कसरी बनाउने भन्ने विषयमा हाम्रो विशेष जोड रहनेछ,” उनले भने।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.