अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्तिगत रूपमा हस्तक्षेप गरेपछि फिफाले अमेरिकी फुटबल टोलीका स्ट्राइकर फोलारिन बालोगुनमाथिको एक खेलको स्वतः प्रतिबन्ध स्थगित गरेको छ।
अमेरिकी सञ्चारमाध्यम फक्स न्युजका अनुसार ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई सिधै फोन गरी बालोगुनको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेका थिए। बालोगुन बोस्निया एण्ड हर्जगोभिना विरुद्धको प्रि–क्वार्टरफाइनल खेलमा रातो कार्ड पाएपछि स्वतः एक खेलको प्रतिबन्धमा परेका थिए।
फिफाको अनुशासन समितिले आइतबार निर्णय सार्वजनिक गर्दै फिफा अनुशासन संहिताको धारा २७ अनुसार बालोगुनको उक्त प्रतिबन्ध एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरिएको जनायो। यसअनुसार उनी सोमबार हुने बेल्जियम विरुद्धको अन्तिम १६ को महत्वपूर्ण खेलमा मैदानमा उत्रन पाउने भएका छन्।
२५ वर्षीय बालोगुनले बोस्निया एन्ड हर्जेगोभिना विरुद्धको खेलमा अमेरिकाले २–० को जित निकाल्दा ६४औँ मिनेटमा रातो कार्ड देखाइएको थियो। यद्यपि उनले यसअघि सोही प्रतियोगितामा तीन गोल गर्दै अमेरिकाको अभियानमा उल्लेखनीय योगदान पुर्याइसकेका छन्।
फिफाको निर्णय आएपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत प्रतिक्रिया दिँदै भने, ‘ठिक निर्णय गरेर ठूलो अन्याय सच्याएकोमा फिफालाई धन्यवाद।’
तर फिफाको यो निर्णय विवादमुक्त भने छैन। बेल्जियम फुटबल महासंघले फिफाले अनुशासनसम्बन्धी नियमको गलत व्याख्या गरेको आरोप लगाउँदै उपलब्ध सबै कानुनी विकल्पहरू अध्ययन गरिरहेको जनाएको छ।
उल्लेखनीय छ कि अमेरिका र बेल्जियमबीच विश्वकपमा पछिल्लोपटक २०१४ को फिफा विश्वकपको अन्तिम १६ मा भेट भएको थियो, जहाँ बेल्जियमले अतिरिक्त समयमा २–१ को जित निकाल्दै अमेरिकालाई प्रतियोगिताबाट बाहिर पठाएको थियो। त्यस खेलमा अमेरिकी गोलरक्षक टिम हवार्डले ऐतिहासिक १६ वटा बचाउ गरेका थिए।
अब बालोगुन खेल्न पाउने भएपछि अमेरिकाले सन् २००२ पछि पहिलो पटक क्वार्टरफाइनल पुग्ने सपना पूरा गर्ने आशा राखेको छ। तर बालोगुनको प्रतिबन्धमाथि फिफाले गरेको निर्णयको औचित्यबारे बहस भने अझै जारी छ।
