काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेलाडी अक्सन सुरु भएको छ। पहिलो चरणको क्याटेगोरी ‘सी’ अन्तर्गत हालसम्म १७ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध भएका छन्।
राजधानीमा जारी यस अक्सनमा क्याटेगोरी ‘सी’ का ७७ खेलाडी बिडिङमा सहभागी भएका थिए। कुल १२४ खेलाडीमध्ये अहिलेसम्म १७ जना विभिन्न टोलीमा समावेश भइसकेका छन्।
यस चरणमा सर्वाधिक रकम खर्च गर्ने दुई टोली विराटनगर किङ्स र जनकपुर बोल्ट्स रहे। विराटनगर किङ्सले सुजन थपलियालाई ४ लाख २५ हजार रुपैयाँमा अनुबन्ध गर्दै सबैभन्दा महँगो बोली लगाएको छ। सोही टोलीले अपराजित पौडेललाई २ लाख रुपैयाँमा पनि टोलीमा भित्र्याएको छ। जनकपुर बोल्ट्सले रित गौतमलाई समान ४ लाख २५ हजार रुपैयाँमा अनुबन्ध गरेको छ। जनकपुरले थप सन्तोष कार्कीलाई ३ लाख र युवा बलर आशुतोष पाण्डेलाई २ लाख रुपैयाँमा टोलीमा समावेश गरेको छ। समाचार तयार हुँदासम्म जनकपुरले तीन खेलाडी अनुबन्ध गरिसकेको छ।
काठमाडौं गोर्खाजले बागमती प्रदेशका अलराउन्डर सोनु देवकोटा, प्रसिद्ध जैसी र दयानन्द मण्डललाई प्रत्येकलाई २ लाख रुपैयाँमा टोलीमा भित्र्याएको छ। लुम्बिनी लायन्सले अरनिको यादवलाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। कर्णाली याक्सले सूर्य तामाङलाई आधार मूल्य २ लाख रुपैयाँमा टोलीमा लिएको छ।
सुदूरपश्चिम रोयल्सले सचिन भट्ट र आयुव चन्दलाई प्रत्येकलाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। चितवन राइनोजले मौसम ढकाललाई ३ लाख, तथा विपिन रावल र अशोक धामीलाई प्रत्येकलाई २ लाख रुपैयाँमा टोलीमा समावेश गरेको छ। पोखरा एभेन्जर्सले सुदीप अर्याललाई ३ लाख, विवेककुमार रानामगरलाई २ लाख ७५ हजार र सन्नी विकलाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली खेलाडी अनुबन्ध गर्न पाउनेछन्। अक्सनको अन्तिम सूचीमा परेका १५५ खेलाडीमध्ये जम्मा ५२ जना विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध हुनेछन्।
