काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णाली नदीमा बस खसेपछि भएको उद्धार कार्य प्रभावकारी नभएको भन्दै सरकारमाथि कडा आलोचना गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले भने, ‘मैंले आज कर्णालीमा दुर्घटना देखेको छैन, सरकारको गैरजिम्मेवारी र असफलता देखेको छु।’
उनका अनुसार असार १८ गते कर्णाली नदीमा बस खस्दा यात्रुहरू नदीको बीचमा फसेर जीवन बचाउन हारगुहार गरिरहेका थिए, तर समयमै उद्धार पुगेन। एकजना व्यक्ति भीरमा अड्किएर बाँच्न संघर्ष गरिरहेका थिए, तर उद्धार नआउँदै उनको ज्यान गयो।
शाहीले दुर्घटनाको बेला आकाशमा हेलिकप्टर देखिए पनि त्यो उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि प्रयोग भएको दाबी गरे।
उनले भने, ‘मैंले तत्काल फोन गरेको थिएँ। उद्धार टोलीसँग आवश्यक साधन थिएन। सुर्खेतबाट घटनास्थलमा एउटा हेलिकप्टर पठाउने क्षमता पनि सरकारसँग थिएन। सरकार आखिर कसका लागि काम गरिरहेको छ?’
सांसद शाहीले कर्णालीका नागरिकमाथि विभेद भएको आरोप लगाउँदै कर्णाली पनि नेपालको अभिन्न अंग भएको सरकारलाई स्मरण गराए।
